
Ground Zero
September 27, 2026

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकामा ४ करोड ४९ लाख ३३ हजार ४ सय ४३ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने ६३ लाख ३४ हजार ८ सय ४३ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार २ अर्ब २९ करोड ६३ लाखभन्दा बढीको लेखापरीक्षण गर्दा बर्दघाट नगरपालिकाको कुल अद्यावधिक बेरुजु २० करोड ३७ लाख ९ हजार ९ सय २५ रुपैयाँ पुगेको छ।
प्रदेश कानुनले स्पष्ट रूपमा रोक्दा-रोक्दै दरबन्दी बाहिर गैरकानुनी रूपमा करार कर्मचारी भर्ती गरी १ करोड ५६ लाखभन्दा बढी बजेट रित्याइयो। जसमध्ये स्वास्थ्यतर्फका अनमी, ल्याब असिस्टेन्ट र पब्लिक हेल्थ नर्स जस्ता पदमा मात्रै १ करोड ३२ लाख रुपैयाँ गैरकानुनी रूपमा बाँडियो।
शिक्षा र कृषि क्षेत्रमा पनि उस्तै मनपरी छ। सिकाइ सामग्रीका लागि सङ्घीय अनुदान आउँदा-आउँदै एउटै कामका लागि नगर शिक्षा समितिबाट पुनः २१ लाख ५८ हजार दोहोरो अनुदान बाँडियो। यस्तै, १ करोड ९६ लाखको वडा कार्यालय भवन निर्माण कार्यलाई प्रतिस्पर्धा सीमित गराउन टुक्रा-टुक्रा पारेर भुक्तानी गरियो। मकै पकेट कार्यक्रममा जग्गाको क्षेत्रफल नै नखुलाई १० लाख ८३ हजार निकासा दिइयो।
विपद् व्यवस्थापन कोषको बजेट आकस्मिक काममा लगाउनुपर्नेमा मन्दिर र बाटो मर्मतमा बजेट उडाइयो। १० लाखमाथिको पाइप खरिद सोझै गरियो भने गैर-सरकारी र प्रहरी चौकीका भवन निर्माणमा समेत पालिकाको बजेट मनोमानी खर्च गरियो।
पुराना बेरुजु जोड्दा बर्दघाट नगरपालिकाको अद्यावधिक बेरुजु २० करोड ३७ लाख रुपैयाँ पुगेको छ। विकास र सुशासनको नाममा जनताको कर यसरी मनपरी रित्याइँदा पनि नियमनकारी निकाय भने मौन छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।