Skip to main content
शुक्रबार, ०९ असोज २०८३

बराहताल गाउँपालिकामा २ करोड ६९ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 25, 2026


सुर्खेतको बराहताल गाउँपालिकामा २ करोड ६९ लाख ५३ हजार २ सय २ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने १ करोड ७९ लाख ६ हजार ३ सय ६५ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ३८ करोड ५० लाखभन्दा बढीको लेखापरीक्षण गर्दा गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ३० करोड १८ लाख १२ हजार ७ सय ५२ रुपैयाँ पुगेको छ।

स्थानीय सरकार सञ्चालन ऐन विपरीत स्वीकृत दरबन्दी नै नभएका पदहरूमा ४३ जना कर्मचारी करारमा राखेर १ करोड ५४ लाख रुपैयाँभन्दा बढी तलब भत्ता बाँडियो। कानुनले तोकेका पदबाहेक गैरकानुनी रूपमा नियुक्ति दिएर नागरिकको करबाट सङ्कलित बजेटमा मनपरी गरियो।

राजस्व सङ्कलन र खरिद प्रक्रियामा पनि उस्तै लापरबाही छ। नदीजन्य पदार्थको ठेक्का र बिक्रीमा प्रदेश कानुनभन्दा कम दर कायम गरेर ४० लाखभन्दा बढी राजस्व घाटा पारियो। सडक निर्माणमा मेसिनको साटो मानिसले खनेको नक्कली दररेट बनाई ७ लाख रुपैयाँ थप व्ययभार पारियो भने रोजगार कार्यक्रममा दररेट फरक पारेर बजेट दुरुपयोग गरियो।

ट्याग, बिमा र स्वास्थ्य जाँच नै नगरी हचुवाका भरमा बाख्रा बाँडेर ५ लाख ८८ हजार स्वाहा पारियो। बैंकबाटै वितरण हुने सामाजिक सुरक्षा भत्ता बाँड्न छुट्टै खाना-खाजा र पारिश्रमिकको बिल बनाइयो। त्यस्तै मर्मत, फर्निचर, र प्रोत्साहन भत्ताका नाममा नियमविपरीत रकम रित्याइयो।

पुराना बेरुजु जोड्दा बराहताल गाउँपालिकाको कुल बेरुजु ३० करोड १८ लाख रुपैयाँ नाघेको छ। सुशासन र पारदर्शिताको नारा दिने स्थानीय सरकारको यो गैरजिम्मेवारपनमाथि कहिले होला कारबाही?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।