Skip to main content
सोमबार, ०५ असोज २०८३

ठुलीभेरी नगरपालिकामा ४२ लाख ७५ हजारको अनियमितता

Ground Zero

September 21, 2026


डोल्पाको ठुलीभेरी नगरपालिकामा करोडौँ रुपैयाँको आर्थिक अनियमितता र बेरुजुको चाङ फेला परेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकामा ४२ लाख ७५ हजार रुपैयाँभन्दा बढी सीधा अनियमितता भएको छ भने २ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्चको कुनै प्रमाण नै छैन।

कुल १ अर्ब १ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा नगरपालिकाको अद्यावधिक बेरुजु ५२ करोड ३२ लाख १३ हजार रुपैयाँ पुगेको छ।

स्थानीय सरकारमा जनताको कर कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण बनेको छ— कर्णाली प्रदेशको ठुलीभेरी नगरपालिका। महालेखा परीक्षकको प्रतिवेदनले यहाँको आर्थिक बेथिति उदाङ्गो पारिदिएको छ।

पालिकामा १० जना इन्जिनियरिङ कर्मचारी दरबन्दीमै थिए। तर, दर विश्लेषणको नाममा बाहिरी परामर्शदातालाई सुटुक्क ४ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरियो। कानुनले रोक लगाएको विशेष भत्ताको नाममा करारका कर्मचारीलाई ३ लाख ५४ हजार बाँडियो।

थप अचम्म त के भने, राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेट सीप र स्वरोजगारमा लगाउनुपर्नेमा मापदण्ड विपरीत तेल, हर्लिक्स र अण्डा बाँडेर २ लाख स्वाहा पारियो।

यति मात्र होइन, प्रयोजन नै नखुलाई गङ्गा जमुना होटललाई खाना-खाजा बापत २ लाख ९७ हजार, भ्रमण आदेश नै नभई गाडी भाडा बापत ५ लाख, र प्रयोग खुल्ने प्रमाणविना खाद्यान्न खरिदमा २ लाख गरी १० लाख रुपैयाँ बिलकै भरमा रित्याइयो।

सदरमुकाम जोड्ने भूगोलमा नागरिक सामान्य विकासका लागि भौतारिरहँदा, पालिकामा भने २ करोड ९५ लाख खर्चको प्रमाण नै गायब छ। गत वर्षसम्मको बाँकी बेरुजु जोड्दा अहिले ठुलीभेरीको कुल बेरुजु ५२ करोड ३२ लाख रुपैयाँ नाघेको छ।

नागरिकको पसिनाबाट उठेको बजेटमाथि यसरी सोझै अनियमितता र लापरबाही हुँदा पनि सम्बन्धित निकाय भने मौन देखिन्छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।