Skip to main content
शुक्रबार, ०२ असोज २०८३

ललितपुरमा १ करोड ९५ लाखको अनियमितता

Ground Zero

September 17, 2026


ललितपुर महानगरपालिकामा १ करोड ९५ लाख ५३ हजारको अनियमितता भएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार महानगरपालिकामा वित्तीय अनुशासन मिचेर मनपरी बजेट भुक्तानी गर्ने परिपाटी भयावह बनेको छ।

१० अर्ब ६७ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा यस वर्ष ४ करोड ६८ लाखभन्दा बढी बेरुजु थपिएको छ। पुरानासमेत गरी ललितपुर महानगरपालिकाको कुल अद्यावधिक बेरुजु रकम १ अर्ब २८ करोड ३२ लाख २८ हजार रुपैयाँ पुगेको छ।

अनियमितताको नमुना हेर्नुहोस्— प्रशासनिक भवन निर्माणको ठेक्काबाट सार्वजनिक लेखा समितिको निर्देशन विपरीत मोटरसाइकल र कम्प्युटर खरिद गरी ६ लाख ११ हजार भुक्तानी गरियो। नगरसभाको स्वीकृति नै नगरी जनप्रतिनिधिको बिमा बापत २९ लाख ५२ हजार र आफ्नै कर्मचारी बसेका नियमित बैठकहरूमा ८ लाख १० हजारभन्दा बढी भत्ता बाँडियो।

त्यस्तै, अख्तियारी नै नलिई प्रहरी र नापी कार्यालय जस्ता अन्य निकायका लागि ४ लाख ४३ हजार खर्च गरियो। डेंगु नियन्त्रण, भिटामिन ‘ए’, क्षयरोग र महामारी निगरानीका नाममा आएको संघीय बजेट नियमविपरीत अनुगमन भत्ता, कन्सल्टेन्ट र यातायात भत्ताका नाममा ८ लाख १६ हजार रुपैयाँभन्दा बढी स्वाहा पारियो।

सार्वजनिक खरिद नियमावली मिचेर सीमाभन्दा बढीको काम उपभोक्ता समितिलाई दिने र निर्देशिका विपरीत भत्ता बाँड्ने यस्ता कार्यले महानगरको सुशासनमाथि ठूलो प्रश्न उठाएको छ। जनहितका लागि आएको बजेटमाथिको यो मनपरी कहिले रोकिने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।