Skip to main content
सोमबार, २९ भदौ २०८३

भेरीगंगामा ३ करोड ८ लाखको अनियमितता

Ground Zero

September 14, 2026


कर्णाली प्रदेशको सुर्खेतस्थित भेरीगंगा नगरपालिकामा ३ करोड ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको अनियमितता सार्वजनिक भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ७८ करोडभन्दा बढी रकमको लेखापरीक्षण गर्दा कुल बेरुजु ९ करोड ६४ लाख ६७ हजार रुपैयाँ देखिएको थियो। फछ्र्यौटपछि पनि ९ करोड ६३ लाख ३० हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी रहँदा पालिकाको कुल अद्यावधिक बेरुजु ५७ करोड ५३ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

स्वीकृत दरबन्दीविना नै २५ जना करार कर्मचारी राखेर ८० लाख ३० हजार रुपैयाँभन्दा बढी तलब भुक्तानी गरिएको छ। कर्मचारी र पदाधिकारीलाई दोहोरो पर्ने गरी ११ लाख ४५ हजारको जीवन बीमा गरिएको छ भने प्राविधिक भत्ताका नाममा १३ लाख ८० हजार खर्चिइएको छ। एम्बुलेन्स सेवाबाट उठेको ८ लाख ५३ हजार राजस्व सञ्चित कोषमा दाखिला नगरी सोझै खर्च गरिएको छ।

व्यक्तिगत प्रकृतिको नवराज कार्की स्मृति प्रतिष्ठानको अधुरो भवनमा ३० लाख ९८ हजार र क्षेत्राधिकार बाहिर गएर विश्वविद्यालयको कृषि क्याम्पसमा २७ लाख ७२ हजार रुपैयाँ खर्च गरिएको छ। संघीय प्रहरी चौकी भवनमा २३ लाख ७६ हजार भुक्तानी दिइएको छ भने नयाँ बाख्रा पकेट कार्यक्रममा लागत अनुमानबिनै १४ लाख ७२ हजार रुपैयाँ अनुदान बाँडिएको छ।

नियम-कानुन मिचेर गरिएको यस्तो खर्चले स्थानीय तहमा वित्तीय अनुशासनहीनता र बेथिति छताछुल्ल पारेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।