Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, ३० वैशाख २०८३

काठमाडौं सुरक्षित थिएन ? टर्किस वाइडबडी जहाजको कोलकाता डाइभर्टले के भन्छ ?

Ground Zero

February 4, 2026


काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको वाइडबडी जहाज उडेको केही मिनेटमै दायाँ इन्जिनमा आगलागी भएपछि भारतको कोलकाता डाइभर्ट गरिएको छ । आकाशमै देखिएको प्राविधिक संकटबीच चालकदलले दायाँ इन्जिन बन्द गरी बायाँ इन्जिनको भरमा जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याएका छन् । जहाजमा सवार सबै २२५ यात्रु र चालकदल सुरक्षित रहेका छन् ।

उडेको चार मिनेटमै इन्जिनमा आगो

विमानस्थल प्रशासनका अनुसार टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ को ए ३३०–३०३ सिरिजको जहाज बुधबार दिउँसो १: २८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । तर उडान भरेको करिब चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको संकेत पाइलटले एयर ट्राफिक कन्ट्रोललाई दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार पाइलटले इन्जिनमा आगो देखिएको जानकारी दिएलगत्तै आपतकालीन प्रक्रिया सुरु गरिएको थियो । टर्किसको जहाजका क्याप्टेनले उडेको चार मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गर्नुभयो, त्यसपछि चालकदलले जहाजलाई पश्चिम दिशातर्फ मोडेर दायाँ इन्जिन बन्द गर्दै १०/१२ मिनेटसम्म आकाशमै होल्ड गर्नुभयो ।

आकाशमै संकट, चालकदलको संयमता

इन्जिनमा आगलागी हुनु अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा अत्यन्त संवेदनशील र उच्च जोखिमको अवस्था मानिन्छ। विशेषगरी लामो दूरीका वाइडबडी जहाजमा यस्तो समस्या आउँदा निर्णय क्षमता, तालिम र चालकदलको संयमता नै यात्रु सुरक्षाको मुख्य आधार बन्छ।

सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो। जहाज आकाशमै होल्ड गरिएको समय चालकदलले जहाजको अवस्था, इन्धन, यात्रुको सुरक्षा र वैकल्पिक विमानस्थलबारे मूल्याङ्कन गरेको थियो।

त्रिभुवन विमानस्थल १५ मिनेट बन्द

घटनाको जानकारी पाउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उच्च सतर्कता अपनाएको थियो। “दमकल, एम्बुलेन्स, सुरक्षा टोलीसहित सम्पूर्ण आपतकालीन संयन्त्र तयारी अवस्थामा राखेर करिब १५ मिनेट विमानस्थल पूर्ण रूपमा बन्द गरिएको थियो,” महाप्रबन्धक सिटौलाले बताए।

यदि जहाज काठमाडौं फर्कने निर्णय गरेको भए आकस्मिक अवतरणका लागि सम्पूर्ण तयारी भइसकेको विमानस्थल प्रशासनको भनाइ छ। तर चालकदलले नजिकको वैकल्पिक र सुरक्षित विमानस्थलका रूपमा भारतको कोलकातालाई रोजेपछि त्यसैअनुसार अनुमति दिइएको थियो।

बायाँ इन्जिनको भरमा कोलकातासम्म

दायाँ इन्जिन बन्द भइसकेपछि जहाज बायाँ इन्जिनमात्र प्रयोग गरेर भारततर्फ उडेको थियो। विमानस्थल स्रोतका अनुसार एक इन्जिनमा पनि यस्तो वाइडबडी जहाज सुरक्षित रूपमा उडाउन सकिने अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड छ, तर त्यसका लागि पाइलटको अनुभव र विमानको प्राविधिक अवस्था अत्यन्त महत्वपूर्ण हुन्छ।

लगभग डेढ घण्टाको उडानपछि उक्त जहाज भारतको कोलकाता स्थित सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। अवतरणपछि यात्रुहरूलाई सकुशल विमानबाट बाहिर निकालिएको र प्राविधिक टोलीले जहाजको विस्तृत जाँच सुरु गरेको जनाइएको छ।

२२५ यात्रु, ११ चालकदल सुरक्षित

टर्किस एयरलाइन्सको उक्त जहाजमा २२५ जना यात्रु सवार थिए। चालकदलका ११ सदस्यसहित कुल २३६ जना यात्रु र कर्मचारी सुरक्षित रहेको पुष्टि गरिएको छ। यात्रुहरूलाई कोलकातामा आवश्यक व्यवस्थापन गरिएको र वैकल्पिक उडानबारे एयरलाइन्सले जानकारी दिने तयारी गरिरहेको बताइएको छ।

बारम्बार उडान सुरक्षामाथि प्रश्न

उड्यन विज्ञ शिशिर शर्मा भन्छन्,-जहाजको इन्जिन फेल हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे आकास्मिक ल्याण्डिङ गर्नका लागि सानो हुन्छ । त्यस कारण जहाज कोलकाता डाइभर्ट गर्यो, जुन धेरै राम्रो गर्यो । यो घटना केवल एउटा प्राविधिक समस्या मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरूको उडान सुरक्षा, विमानको प्राविधिक निगरानी र आपतकालीन तयारीबारे गम्भीर प्रश्न उठाउने खालको छ।

पछिल्ला वर्षहरूमा त्रिभुवन विमानस्थलबाट उड्ने वा अवतरण गर्ने क्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूमा प्राविधिक समस्या देखिँदै आएका छन्। कहिले चक्कामा समस्या, कहिले हाइड्रोलिक फेल, त कहिले इन्जिनमै आगलागी—यी घटनाले यात्रु सुरक्षाप्रति आमचासो बढाइरहेका छन्।

टर्किस एयरलाइन्स र नियामकको छानबिन

टर्किस एयरलाइन्सले घटनाबारे आन्तरिक प्राविधिक छानबिन सुरु गर्ने तयारी गरेको छ। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय उड्डयन नियामक निकायसँग समन्वय गरी घटनाको कारण पत्ता लगाइने बताइएको छ।

उड्डयन विशेषज्ञहरूका अनुसार इन्जिनमा आगलागी हुनु इन्धन प्रणाली, बर्ड स्ट्राइक, प्राविधिक कमजोरी वा मर्मतसम्बन्धी त्रुटिका कारण हुन सक्छ। वास्तविक कारण विस्तृत प्राविधिक जाँचपछि मात्रै स्पष्ट हुने उनीहरूको भनाइ छ।

सामान्य अवस्थामा फर्कियो त्रिभुवन विमानस्थल

घटना टरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सामान्य सञ्चालनमा फर्किएको छ। अहिले विमानस्थल पूर्ण रूपमा सामान्य अवस्थामा सञ्चालनमा आइसकेको छ, महाप्रबन्धक सिटौलाले बताए।

तर आकाशमै देखिएको यो संकटले एकपटक फेरि उडान सुरक्षालाई प्राथमिकतामा राखेर विमान निरीक्षण, नियमित मर्मत र आकस्मिक व्यवस्थापन प्रणालीलाई अझ कडा बनाउनु पर्ने आवश्यकता देखाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।