
Subhak Mahato
October 4, 2025
बाढी र पहिरोका कारण काठमाडौं उपत्यका भित्रिने–निस्कने सडकमार्ग अवरुद्ध भएको बेला आन्तरिक हवाई उडान पनि ठप्प पारिँदा यात्रुहरू समस्यामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिनभर आन्तरिक उडान रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन्, तर यही विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन् । यसले “खराब मौसम” भन्ने बहानामा हवाई सेवाको दुरुपयोग र संभावित भ्रष्टाचारको नाटक भएको आरोप उठेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदिप अधिकारीको आदेशमा “मौसम प्रतिकूल” भन्दै आन्तरिक उडान बन्द गरिएको प्राधिकरण स्रोतले जनाएको छ । तर, भित्रैका प्राविधिक र एयर ट्राफिक कन्ट्रोल (ATC) कर्मचारीहरूले मौसम सामान्य रहेको र उडान गर्न सक्ने अवस्था रहेको बताएका छन् ।
एटीसीमा कार्यरत एक कर्मचारीका अनुसार, “आजको भिजिबिलिटी टेकअफ र ल्याण्डिङ दुवैका लागि पर्याप्त छ । ठूलो झरी परेको बेला पनि आईएफआर (Instrument Flight Rules) उडानहरू सजिलै सञ्चालन गर्न सकिन्छ । तर, महानिर्देशकको आदेशमा सबै आन्तरिक उडान रोकिए, जुन यात्रु र देश दुवैका लागि अन्यायपूर्ण निर्णय हो,” उनले बताए ।
प्राविधिक मापदण्डअनुसार, त्रिभुवन विमानस्थलमा आन्तरिक उडानका लागि टेकअफ गर्न १,००० मिटर र ल्याण्डिङका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । अन्तर्राष्ट्रिय उडानका लागि टेकअफ १,००० मिटर र ल्याण्डिङ २,००० मिटर भिजिबिलिटीमा गर्न सकिन्छ । आजको मापन यी दुवै मापदण्डभन्दा राम्रो रहेको बताइन्छ ।
Today visibility in TIA :
Time : 6am : 7km
Time : 8am : 5 km
Time : 9am : 4km
Time : 11am : 5km
Time : 1pm : 3 km
तर, यता प्राधिकरणका अधिकारीहरूले भने “मौसम अस्थिर भएकाले सुरक्षा प्राथमिकता दिइएको” दाबी गरेका छन् । उनीहरूको भनाइमा, आन्तरिक उडानमा प्रयोग हुने साना विमानहरूमा जोखिम बढी हुने भएकाले उडान रोकिनु स्वाभाविक हो । तर ठूला अन्तर्राष्ट्रिय जेटहरू त्यही रन-वेबाट उडिरहँदा आन्तरिक जहाज मात्र रोकिनुले शंका बढाएको छ ।
हवाई यात्रीहरूले सामाजिक सञ्जालमा आक्रोश पोख्दै भनेका छन् — “सडक बन्द हुँदा विमान नै एकमात्र विकल्प थियो । तर, विमानस्थलको नेतृत्वले नागरिकको पहुँच नै बन्द गरिदियो । यो सरासर जनताको अपमान हो ।”
यस विषयमा महानिर्देशक प्रदिप अधिकारीसँग सम्पर्क गर्दा मोबाइल अफ रहेको पाइयो ।
उड्डयन विज्ञहरू भन्छन्, “नेपालको हवाई प्रशासनमा प्राविधिक भन्दा बढी व्यक्तिगत स्वार्थ चल्छ । खराब मौसमको नाटक गरेर आन्तरिक उडान रोकिनु नेतृत्वको असक्षमता र संभावित भ्रष्टाचारको संकेत हो । संकटका बेला पनि पारदर्शिता र उत्तरदायित्व नदेखिनु नै यो देशको ठूलो दुर्भाग्य हो ।”
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।