Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

प्रधानमन्त्री कार्यालयको दर्ता नम्बर-१ : महानिर्देशकलाई तत्काल निलम्बन गर्न प्रधानमन्त्री कार्की समक्ष उजुरी

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 16, 2025


नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आफ्नै महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च पदाधिकारीविरुद्ध अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उजुरी दर्ता गराएका छन्।

उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै १८ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गर्दै तत्कालीन संसदीय समितिले पनि अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको तर कार्यान्वयन नभएको जनाएका छन्। लामो समयसम्म सरकारले चासो नदेखाएपछि हालैको जेनजी युवाहरूको भ्रष्टाचारविरोधी आन्दोलनपछि बनेको नयाँ सरकार केही गर्छ कि भन्ने आशासहित उजुरी दर्ता गरिएको बताइएको छ।

उजुरीमा पोखरा विमानस्थलमा ३५ अर्ब रुपैयाँ खर्चिए पनि काम सम्पन्न नभएको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ अर्ब खर्चिँदा पनि प्रभावकारी प्रयोग नहुनु, निजगढसहितका अन्य विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार र लापरबाही भएको उल्लेख छ।

त्यस्तै, प्राधिकरणका उच्च अधिकारीहरूले विदेशी भ्रमणका नाममा करोडौँ खर्च गर्ने, आफ्ना परिवारका सदस्यलाई गैरकानुनी सुविधा दिने, भिसा र पासपोर्ट व्यवस्थापनमा समेत अनियमितता गर्ने गरेको आरोप उजुरीमा समावेश छ।

आन्दोलनकारी तथा कर्मचारीहरूले भ्रष्टाचारको जालो तोड्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, जनताको करको पैसा व्यक्तिगत विलासिता र गैरजिम्मेवार गतिविधिमा खर्च हुने क्रम रोकिएन भने मुलुकको हवाई क्षेत्र थप संकटमा पर्नेछ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।