Skip to main content
आइतबार, २५ असोज २०८३

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा १ करोड ३४ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 11, 2026


भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नियम र कानुनको ठाडो उल्लङ्घन गर्दै १ करोड ३४ लाख ९६ हजार ६०९ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी ८६ लाख २१ हजार ४६५ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ !
महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा यसवर्षको ४ करोड ८ लाख थपिएसँगै कुल अद्यावधिक बेरुजु २४ करोड २ लाख २७ हजार ९५५ रुपैयाँ पुगेको छ।
नियम अनुसार १ करोडसम्मको स्थानीय निर्माण कार्य मात्र उपभोक्ता समितिमार्फत गराउन पाइन्छ। तर, सर्वसाधारण र देशैभरका मानिसले सेवा लिने प्रहरी कार्यालय तथा नेपाल कोरिया मैत्री अस्पतालको भवन रंगरोगन र मिटिङ हल निर्माणको ६५ लाख ४६ हजारभन्दा बढीको काम कानुन छलेर उपभोक्ता समितिलाई सुम्पियो।
यति मात्र होइन, १ करोडभन्दा बढी लागत अनुमान भएका शंखधर पार्क, नगदेश लायकु दरबार र बसिपखु संग्रहालय जस्ता ठूला आयोजनासमेत बोलपत्र आह्वान नगरी सोझै उपभोक्ता समितिमार्फत गराएर ६० लाख १० हजारभन्दा बढी रकम अनियमित तरिकाले भुक्तानी गरियो।
गठ्ठाघर-महादेवस्थान सडक निर्माणमा सम्झौता अनुसार कामै नगरी ८३ प्रतिशत मात्रै काम सक्दा पनि निर्माण व्यवसायीलाई कारबाही गर्नुको साटो ४ लाख ९२ हजारको भुक्तानी स्वीकृत गरियो।
संघीय सरकारको गृह मन्त्रालय अन्तर्गत पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका गाडी मर्मतका नाममा पालिकाको कोषबाट नियमविपरीत ४ लाख ४४ हजारभन्दा बढी बजेट उडाइयो।
बजेट र पेस्की उपलब्ध हुँदाहुँदै समयमै सवारी साधन नवीकरण नगरेर कमेरेटार आयोजनाले जनताको करबाट जरिवानासमेत तिरेको पाइएको छ।
सार्वजनिक खरिद ऐन र वित्तीय उत्तरदायित्वको धज्जी उडाउँदै गरिएको यो मनपरीले मध्यपुर थिमिमा सुशासनको गम्भीर धज्जी उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।