Skip to main content
मंगलबार, २० असोज २०८३

भक्तपुरको चाँगुनारायण नगरपालिकामा ३ करोड ३३ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 6, 2026


भक्तपुरको चाँगुनारायण नगरपालिकामा ३ करोड ३३ लाख ९८ हजार ६८४ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर २ करोड ९७ लाख ८८ हजार ३४६ रुपैयाँ झ्वाम पारिएको छ।

महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा यस वर्षको ८ करोड ३५ लाख ७० हजार थपिएर कुल अद्यावधिक बेरुजु ३५ करोड ५९ लाख ६६ हजार ५९० रुपैयाँ पुगेको छ।

बजेट र स्वीकृत कार्यक्रम नै नभएको न्यायिक समितिको अभिमुखीकरणका नाममा ३ लाख १० हजारभन्दा बढी खर्च लेखिएको छ। कोटेशन र जिन्सी दाखिलाविना सोझै जुत्ता बनाउने तालिमका नाममा ५ लाख ६५ हजारको कपडा खरिद गरियो।

समयमै विद्युत महसुल नबुझाउँदा नगरपालिकाले ७३ हजारभन्दा बढी रकम जरिवाना मात्रै तिरेको छ। नियमविपरीत जनप्रतिनिधि र कर्मचारीलाई कार्यक्षेत्रभित्रकै नियमित अनुगमनको नाममा २ लाख ३ हजार भत्ता बाँडिएको छ।

२५ जनाभन्दा कम विद्यार्थी भएका ५ वटा विद्यालयमा दरबन्दीभन्दा बढी बालविकास सहजकर्ता राखेर ११ लाख ४० हजारको अतिरिक्त व्ययभार पारिएको छ।

यस्तै, वियानेटसँग १८ लाख ६१ हजारको इन्टरनेट जडान गर्दा परामर्श सेवाको कुनै नियम पालना गरिएन। सामुदायिक सिकाइ केन्द्रलाई मापदण्डविपरीत ४ लाख ७३ हजार अनुदान दिइयो भने लागत अनुमानविना नै ४३ लाख ४५ हजारभन्दा बढीको परामर्श सेवा खरिद गरियो।

वार्षिक खरिद योजनाविना ७६ लाख ७० हजारको मर्मत तथा मसलन्द सामान र एउटै फर्मबाट २४ लाख ३० हजारभन्दा बढीको सोझै खरिद गरिएको छ।

अझ ९० प्रतिशत मात्र काम सकिएका आयोजनामा समेत कार्य सम्पन्न प्रतिवेदन बनाएर १० लाख ३० हजार भुक्तानी दिइयो। प्रतिस्पर्धाबाट गराउनुपर्ने ५४ लाख १३ हजारको भवन निर्माण र १९ लाख ८० हजारको मूर्ति खरिद नियमविपरीत उपभोक्ता समितिमार्फत गराइयो।

सार्वजनिक खरिद ऐन र वित्तीय अनुशासनको धज्जी उडाउँदै गरिएको यो मनपरीले स्थानीय सरकारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।