Skip to main content
आइतबार, १८ असोज २०८३

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा १ करोड ३७ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 4, 2026


सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा १ करोड ३७ लाख ५४ हजार ४ सय ७० रुपैयाँ अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेस नगरी २ करोड २९ लाख १९ हजार ७ सय २१ रुपैयाँ झ्वाम पारेका छन् । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजु फछ्र्योटपछि कायम बेरुजुमा यस वर्षको ३ करोड ९३ लाख १३ हजार ३१ रुपैयाँ थपिएर कुल अद्यावधिक बेरुजु २९ करोड ८२ लाख २७ हजार ३ सय १० रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब १३ करोड ५० लाख रुपैयाँको कुल आय(व्यय परीक्षण गर्दा गम्भीर प्रशासनिक तथा वित्तीय बेथिति सार्वजनिक भएको हो। प्रदेश ऐनविपरीत दरबन्दीभन्दा बढी अमिन, अनमि, स्टाफ नर्स र हेल्थ असिस्टेन्ट राखी तलब भत्तामा ४७ लाख २७ हजार रुपैयाँ खर्च गरिएको छ भने ऐनमा व्यवस्थै नभएको कानुनी सल्लाहकार नियुक्त गरी ३ लाख ५० हजार रुपैयाँ भुक्तानी दिइएको छ।

त्यस्तै, ३।५ किलोमिटर सडक र कभर्ड हलको डिपिआर तयार गर्दा सम्झौता र कार्य सम्पन्न गर्ने मिति एकै दिन राखी फर्जी कागजातका आधारमा ९ लाख ९० हजार रुपैयाँ भुक्तानी गरिएको छ। कभर्ड हलको डिपिआर स्वीकृत हुनुअघि नै निर्माण कार्य सुरु गरेर ठेक्का मिलोमतो गरिएको पाइएको छ।

बजेट तथा कार्यक्रममा समावेश नै नभएको खानेपानी ल्याब सामाग्री र ओभरहेड ट्याङ्की रङ्गरोगनका लागि ११ लाख ५३ हजार रुपैयाँ गैरकानुनी रूपमा समपुरक कोषबाट खर्च गरिएको छ। विद्युत् महसुल र सवारी नवीकरण समयमा नगरेर ४८ हजार रुपैयाँभन्दा बढी जरिवाना तिराइएको छ भने सशस्त्र प्रहरी, इलाका प्रहरी र नापी कार्यालयका लागि नियमविपरीत १९ लाख ६८ हजार रुपैयाँ खर्च गरी बजेटको दुरुपयोग गरिएको छ।

कानुनको धज्जी उडाउँदै फाजिल कर्मचारीलाई २१ लाख रुपैयाँभन्दा बढी तलब खुवाउने र डिपिआरदेखि खरिद प्रक्रियासम्म भएको यो मनपरीले स्थानीय सरकारको पारदर्शितामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।