
Ground Zero
September 28, 2026

सिराहा नगरपालिकामा ३ करोड १७ लाख ४१ हजार रुपैयाँभन्दा बढी अनियमित खर्च भएको छ भने प्रमाण र कागजात नै पेस नगरी ६ करोड ४९ लाख २६ हजार रुपैयाँ भुक्तानी दिइएको छ। महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ बेरुजुमा यस वर्ष १० करोड ४२ लाख ५५ हजार थपिएपछि अद्यावधिक बेरुजु १ अर्ब १७ करोड ८ लाख १७ हजार रुपैयाँ पुगेको छ।
२ अर्ब ८५ करोड ३ लाख रुपैयाँको कुल आय–व्यय परीक्षण गर्दा नियमविपरीत खर्च र बेथिति चौतर्फी देखिएको छ। कानुनले रोक लगाएका पदमा १५ जना सामाजिक परिचालक र कानुनी सल्लाहकार राखी ४९ लाख १० हजार रुपैयाँ पारिश्रमिक बाँडिएको छ। वडाध्यक्ष आफैँले ज्यालादारी कर्मचारी नियुक्त गरी ५१ लाख ८० हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन्।
सार्वजनिक खरिद नियमावली विपरीत एउटै फर्मबाट सीमाभन्दा बढी १ करोड ५८ हजार रुपैयाँको खरिद गरिएको छ भने दररेट र प्रतिस्पर्धाबिनै सोझै २२ लाख रुपैयाँको सामान किनिएको छ। अधिकार क्षेत्रबाहिर गएर मालपोत, प्रशासन र प्रहरी कार्यालयमा २३ लाख ५४ हजार रुपैयाँ खर्च गरिएको छ।
शहिद हेमनारायण गोल्डकपमा १९ लाख ९४ हजार र सिराहा सांगीतिक आइडलमा १५ लाख रुपैयाँ बिनाप्रमाण र पारदर्शी आधार भुक्तानी भएको छ। घाँस खरिदको १५ लाख रुपैयाँ शीर्षक बदलेर खर्च गरिएको छ भने निर्माण कार्यमा ५ प्रतिशत रिटेन्सन मनीसमेत कट्टा गरिएको छैन।
स्थायी स्वास्थ्य कर्मचारीको तलब शीर्षकबाट भ्रमण खर्च चलाउनेदेखि अघिल्ला वर्षका दायित्व गैरकानुनी रूपमा फरफारक गर्नेसम्मका काम भएका छन्। नागरिकको करबाट उठेको बजेटमाथि भएको यो मनपरीले स्थानीय तहमा सुशासन र वित्तीय अनुशासनको गम्भीर धज्जी उडाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।