Skip to main content
मंगलबार, ०६ असोज २०८३

खत्याड गाउँपालिकामा १ करोड ९० लाखको अनियमितता

Ground Zero

September 22, 2026


मुगुको खत्याड गाउँपालिकामा १ करोड ९० लाख ७० हजार ८ सय ४७ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने २ करोड २७ लाख २८ हजार ९ सय ५५ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब २३ करोड ८७ लाखभन्दा बढीको लेखापरीक्षण गर्दा खत्याड गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ५० करोड २७ लाख ६५ हजार ७ सय ९ रुपैयाँ पुगेको छ।

आन्तरिक स्रोत जम्मा ४४ लाख रुपैयाँ मात्र रहेको खत्याडमा स्वीकृत दरबन्दी बाहिरका ४० जना करार कर्मचारीलाई १ करोड ४८ लाख रुपैयाँ पारिश्रमिक बाँडियो। दरबन्दी मिलान नै नगरी २८ जना शिक्षक राखेर ९० लाखभन्दा बढी बजेट रित्याइयो। नियमविपरीत नगर प्रहरीलाई ६ लाख ३० हजार रुपैयाँ रासन भत्ता बाँडिएको छ।

वित्तीय अनुशासनको धज्जी उडाउँदै नियमविपरीत गत वर्षको दायित्व भन्दै २५ लाखभन्दा बढी रकम भुक्तानी गरियो। मुख्यमन्त्री रोजगार कार्यक्रमका ५ वटा योजनामा तोकिएको सीमाभन्दा बढी कन्टिन्जेन्सी खर्च लेखेर ३ लाख ९४ हजार रुपैयाँ स्वाहा पारियो।

कृषक तालिमको बजेट संस्थाको आफ्नै कर्मचारी र फर्निचरमा खर्च गरियो। पालिकाले चलाएको एफएम रेडियोमा ७ लाख ५८ हजार खर्च गरिए पनि आम्दानीको हिसाब गायब छ। ७ दिनमै तालिम छाड्ने सहभागीका कारण अढाई लाख र मेसिनरी मर्मतका नाममा समेत मनोमानी रकम भुक्तानी गरिएको छ।

पुराना बेरुजु जोड्दा खत्याड गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ५० करोड २७ लाख रुपैयाँ नाघेको छ। दुर्गमका नागरिक विकासको पर्खाइमा छटपटाइरहँदा बजेटमाथि भएको यो दोहनको जिम्मेवारी कसले लिने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।