Skip to main content
शनिबार, ०३ असोज २०८३

गुर्भाकोटमा १ करोड ९ लाखको अनियमितता

Ground Zero

September 19, 2026



कर्णाली प्रदेश सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका १ करोड ९ लाख ८६ हजारको अनियमितता भएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकामा १ करोड ९ लाख ८६ हजार ६ सय ४७ रुपैयाँ अनियमितता भएको पुष्टि भएको हो

महालेखाको प्रतिवेदन अनुसार नगरपालिकामा प्रचलित कानुन विपरीत ८ विभिन्न पद तथा तहमा २३ जना कर्मचारीहरू करारमा नियुक्त गरी ९२ लाख ७० हजार ९ सय ८४ रुपैयाँ तलब-भत्ता भुक्तानी गरिएको छ। त्यसैगरी बजेट तथा सम्झौता विपरीत विभिन्न योजना र शीर्षकहरूमा रकम खर्च गरी १ करोड ९ लाख ८६ हजार भन्दा बढी रकम अनियमित तरिकाले भुक्तानी दिइएको छ।

अनियमितता मात्र होइन, आर्थिक हिनामिनाको अर्को दायरा पनि उत्तिकै डरलाग्दो छ। नगरपालिकाले गरेका खर्चहरू मध्ये ४ लाख ४६ हजार ७ सय ८ रुपैयाँको कुनै पनि प्रमाण तथा आधिकारिक कागजात पेस हुन सकेको छैन। प्रतिवेदनका अनुसार यस वर्ष असुल गर्नुपर्ने बेरुजु ३ लाख ६२ हजार ९ सय ३८ रुपैयाँ छ भने कुल १ करोड १८ लाख ८४ हजार बेरुजु देखिएको छ।

यसअघिका वर्षहरूको समेत जोड्दा गुर्भाकोट नगरपालिकाको अद्यावधिक बेरुजु रकम २० करोड ५६ लाख १७ हजार पुगेको छ। स्थानीय तहमा विकास र जनसेवाका लागि आउने बजेटमा कानुन मिचेर भुक्तानी दिने र प्रमाणसमेत नराख्ने प्रवृत्तिले नागरिकको करमाथि कसरी खेलबाड भइरहेको छ भन्ने स्पष्ट पार्छ।

नागरिकको पसिनाबाट उठेको कर र राज्यको बजेटमा भएको यो अनियमितताप्रति नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले जवाफ दिनुपर्छ कि पर्दैन? महालेखाको यो प्रतिवेदनपछि अब कारबाही र सुधारको कदम कहिले चालिएला ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।