
Ground Zero
September 13, 2026

करदाताको पसिनाबाट उठेको बजेट कसरी नियमविपरीत बाँडिन्छ ? लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिकामा भएको १४ लाख ६८ हजारभन्दा बढीको अनियमितता लिन सकिन्छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकामा आर्थिक अनुशासनहीनताको शृङ्खला भयावह बनेको छ।
२ अर्ब ३० करोड ८० लाखभन्दा बढीको लेखापरीक्षण गर्दा १ करोड ५६ लाख ८४ हजार थप बेरुजु देखिएपछि पालिकाको अद्यावधिक बेरुजु रकम २० करोड ४९ लाख ३६ हजार रुपैयाँ पुगेको छ।
अनियमितताको नमुना वडा नम्बर ५ को कम्प्युटर तालिममा प्रष्ट देखिन्छ, जहाँ वडा नम्बर १ को तुलनामा दोब्बर रकम अर्थात् ३ लाख भुक्तानी दिएर १ लाख ५० हजार रुपैयाँ बढी व्ययभार पारियो। त्यसैगरी, कानुन विपरीत आर्य बचत सहकारी र सनलाइट सामाजिक विकास केन्द्र जस्ता नाफामूलक संस्थालाई १ लाख ७४ हजारका कम्प्युटर तथा ल्यापटप बाँडियो।
IEMIS तालिममा प्राविधिक ज्ञान नै नभएको बाहिरी संस्थालाई विना प्रस्ताव र बिलभरपाई ३ लाख ५८ हजार भुक्तानी गरियो भने प्रारम्भिक वातावरण परीक्षणका नाममा कार्यसूची विपरीत ४ लाख ९१ हजार खर्च पाइयो। यति मात्र नभई, कपिलवस्तु बचत तथा ऋण सहकारीको भवन मर्मतका नाममा २ लाख ९४ हजार रुपैयाँ कानुन विपरीत भुक्तानी दिइयो।
नियम, कार्यविधि र कानुनलाई लत्याएर सार्वजनिक सम्पत्तिको मनपरी खर्च गर्ने यो परिपाटीले स्थानीय तहको वित्तीय उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। जनताको करमाथि भएको यो दोहनको हिसाबकिताब कसले लिने?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।