Skip to main content
शुक्रबार, १२ भदौ २०८३

काल बनेर आएको बाढी: न मेटिने घाउ छोडेर बगेको भोटेकोशी र रित्तिएका बस्तीहरूको कथा

Ground Zero

August 27, 2026


आकाशबाट झरेको पानी केवल झरी मात्रै रहेनछ, त्यो त कतिपयको सिन्दूर पुछ्ने, कतिपयको काख रित्याउने र सिङ्गो बस्तीलाई नै बगाउने काल बनेर आएछ ।

हिमाली काखमा सुतिरहेको रसुवा, जहाँका मानिसहरू आफ्नै साना सपनाहरूसँग रमाउँदै थिए। तर, एकैछिनमा सुसाइरहेको भोटेकोशी अचानक बहुलाएर आयो। त्यो केवल पानीको बहाव थिएन, सयौँ परिवारको खुसी घिसार्दै लैजाने एउटा कठोर नियति थियो ।

आज भोटेकोशी शान्त छैन। त्यो नदीको सुसाइमा मानिसहरूको चीत्कार सुनिन्छ, हराएका आफ्नाहरूको आर्तनाद गुञ्जिरहेको छ ।

बाढी रसुवामा आयो, तर त्यसको पीडा र त्रास बागमती र गण्डकी प्रदेशका गाउँ-गाउँसम्म फैलियो। नदीले मानिसहरूलाई मात्र बगाएन, आशा, विश्वास र जीवनका अडानहरू पनि बगाएर लग्यो।

नेपाल प्रहरीको पछिल्लो तथ्यांक सुन्दा जोकोहीको पनि छाती चिरिन्छ। भोटेकोशीको यस विभीषिकामा परी मृत्यु हुनेहरूको संख्या २ सय ८९ पुगेको छ।

सोच्नुहोस् त, २ सय ८९ वटा जिउँदाजाग्दा सपनाहरू !

जसले बिहान परिवारसँगै चिया खाएका थिए, जसले साँझ फर्किएर नानीबाबुहरूलाई काखमा लिने बाचा गरेका थिए, ती सबै आज केवल एउटा संख्यामा सीमित भएका छन् ।

नदीको बहावले आफ्ना मान्छेहरूलाई कति टाढासम्म पुर्यायो?
चितवनको नारायणी किनारमा मात्रै १ सय ८ जनाको निष्प्राण शरीर भेटिएको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२ जना, पश्चिम नवलपरासीमा १५ जना र धादिङमा २७ जनाको शव फेला पर्दा सिङ्गो देश शोकमा डुबेको छ।

गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र विपत्तिको उद्गमस्थल रसुवामा १७ जनाको शव भेटिएको छ।

आफ्नो मान्छे कहाँ भेटिएला भनेर नदी किनारमा टोलाएका आँखाहरू, हिलोमा आफ्नाहरूको अनुहार खोजिरहेका औँलाहरू… यो दृश्य देख्दा कठोर भन्दा कठोर मुटु पनि पग्लिएर पानी हुन्छ।

मृतकहरूको संख्या थपिँदै गर्दा हस्पिटलका कोठाहरूमा भने जीवन र मृत्युको लडाइँ चलिरहेको छ। ५२ जना गम्भीर घाइतेहरू अहिले पनि हस्पिटलका बेडमा छटपटाइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा २६ जना, ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिकमा २, मनमोहनमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ।

अहिलेसम्म १४ जना निको भएर घर फर्किएका छन्। तर, ती घरहरू अब उनीहरूले छोडेर गएजस्ता बाँकी रहेका छैनन् । न त त्यहाँ उनीहरूलाई पर्खिने परिवार नै पूरा छन्, न त उनीहरूले खेलेको आँगन नै सुरक्षित छ।

यति ठूलो प्राकृतिक विपत्ति र मानवीय क्षतापछि सिंगो देशको ध्यान अहिले रसुवा र प्रभावित क्षेत्रतर्फ मोडिएको छ। घटनाको गम्भीरतालाई बुझेर उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन देशका प्रधानमन्त्री बालेन शाह आफैँ सडकमार्ग हुँदै नुवाकोटको विदुर आइपुगेका छन्। प्रधानमन्त्री शाह अहिले नुवाकोटस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा हुनुहुन्छ, जहाँ सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूसँग आपत्कालीन समीक्षा र ‘ब्रिफिङ’ भइरहेको छ।

उहाँको साथमा पूर्वाधार विकास मन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल हुनुहुन्छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीले उहाँहरूलाई क्षति, उद्धारको वर्तमान अवस्था र बेपत्ताहरूको खोजी कार्यबारे वस्तुस्थिति गराइरहनुभएको छ।

नेताहरू बैठकमा छन्, अधिकारीहरू नक्सा र विवरणमा व्यस्त छन्, तर उता नदी किनारमा भने अझै पनि सयौँ आँखाहरू आफ्ना मान्छे जीवितै भेटिने आशमा टोलाइरहेका छन्।

यो संकटको घडीमा यदि कसैले आशाको दीप बालिरहेको छ भने, ती हाम्रा सुरक्षाकर्मीहरू हुन्। आफ्नै ज्यान जोखिममा राखेर भोटेकोशीको सुसाइ र नारायणीको धमिलो पानीमा हामफाल्ने ती वीर जवानहरूलाई सलाम गर्नैपर्छ।

हिलोभित्र पुरिएका शवहरू निकाल्दा उनीहरूको आँखा पनि रसाएका छन्। तर, उनीहरू थाकेका छैनन्। उनीहरूको एउटै लक्ष्य छ-कम्तीमा बेपत्ता भएकाहरूलाई आफन्तको जिम्मा लाउन सकियोस्, घाइतेहरूलाई बेलैमा अस्पताल पुर्याएर बचाउन सकियोस् ।

प्रकृति जब रिसाउँछ, उसले कसैको ओहोदा हेर्दैन, कसैको उमेर हेर्दैन। एउटी आमा, जसले हिजो मात्र आफ्नो छोरालाई काममा पठाएकी थिइन्, आज उनी नदीको किनारमा बसेर सोध्दै छिन्- ‘मेरो बाबु कता गयो ?’

एउटा सानो बालक, जसलाई बाढी भनेको के हो नै थाहा छैन, उसले आफ्नो आमाबाबुलाई खोज्दै हिलोमा खाली गोडाले बाटो नापिरहेको छ। यी दृश्यहरू केवल एउटा समाचारका शब्दहरू होइनन्। यी त हाम्रा आफ्नै दाजुभाइ, दिदीबहिनीका जिउँदा कथाहरू हुन्। रसुवाको त्यो घाउ आज सिङ्गो नेपालको घाउ बनेको छ ।

बाढी घट्दै जाला, नदी फेरि आफ्नै धारमा बग्ला । तर, यस भोटेकोशीले छोडेर गएको शोक र आँसु यति छिटै सुक्ने छैन। २ सय ८९ जनाको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, हस्पिटलमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

आउनुहोस्, राजनीति, सिद्धान्त र मतभेदभन्दा माथि उठेर, यो महाविपत्तिमा परेका हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरौँ। दुखको यो कालो बादललाई आपसी एकता र सहयोगको किरणले मात्र पन्छाउन सकिन्छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।