Skip to main content
मंगलबार, १० कात्तिक २०८३

बाँकेको जानकी गाउँपालिकामा ३ करोड ३० लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 27, 2026


बाँकेको जानकी गाउँपालिकामा ३ करोड ३० लाख ३१ हजार रुपैयाँभन्दा बढी रकम अनियमितता भएको छ भने प्रमाण तथा आवश्यक कागजात नै पेस नगरी ९२ लाख ८० हजार रुपैयाँ झ्वाम पारिएको छ। महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजु फछ्र्योटपछि कायम बेरुजुमा यस वर्ष ४ करोड ३२ लाख ६० हजार रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु ३२ करोड १५ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब २९ करोड ४९ लाख रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र वित्तीय अनुशासनको धज्जी उडाइएको पाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन विपरीत छुट्टै बजेट हुने लुम्बिनी प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय र विभिन्न सहकारीका भवन निर्माण तथा सामग्री खरिदमा १८ लाख ८ हजार रुपैयाँभन्दा बढी गैरकानुनी खर्च गरिएको छ।

त्यस्तै, संगठन तथा व्यवस्थापन सर्वेक्षण नै नगरी ऐनले रोक लगाएका पदहरूमा ३७ जना कविराज, मेलमिलाप सहजकर्ता र कार्यालय सहयोगीलाई ज्यालादारी वा करारमा राखी ९१ लाख ८३ हजार रुपैयाँ तलबभत्ता खुवाइएको छ।

गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका लागि गैरकानुनी रूपमा स्वकीय परामर्शदाता, प्रेस संयोजक र कानुनी सल्लाहकार नियुक्त गरी १२ लाख ३५ हजार रुपैयाँ पारिश्रमिक बाँडिएको छ।

नियमित जिम्मेवारीभित्र पर्ने काममा समेत योजना अनुगमन समितिका पदाधिकारीलाई ६ लाख ६६ हजार रुपैयाँभन्दा बढी अनुगमन भत्ता वितरण गरिएको छ।

मातृ तथा नव शिशु कार्यक्रमको सङ्घीय सशर्त बजेटबाट २ लाख ९७ हजार रुपैयाँको साबुन र नुन खरिद गरी शीर्षक नै फरक पारेर खर्च गरिएको छ भने बिजुलीका तारपोल खरिदको बजेटबाट अन्य विद्युतीय सामग्री किनेर अनियमितता गरिएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।