Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

रामेछापको सुनापति गाउँपालिकामा १ करोड ११ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 24, 2026


रामेछापको सुनापति गाउँपालिकामा १ करोड ११ लाख ८३ हजार १ सय १२ रुपैयाँको चरम अनियमितता भएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकाको कुल अद्यावधिक बेरुजु १७ करोड ५० लाख ७८ हजार रुपैयाँ पुगेको छ।

संघीय कानुन र अख्तियारको स्पष्ट निर्देशन विपरीत ५० वर्ष नाघेका एकल पुरुष र वृद्ध कन्याका नाममा पालिकाले नियमविपरीत १३ लाख ३४ हजार रुपैयाँ भत्ता बाँडेको छ।

जिल्ला प्रहरी कार्यालयका लागि बजेटमै नभएको २ लाख ३७ हजार रुपैयाँको स्मार्ट बोर्ड र मसलन्द किनेर खर्च लेखिएको छ। यस्तै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ३ दिनभन्दा बढीको आफ्नो भ्रमण आदेश कार्यपालिकाबाट स्वीकृत नै नगराई आफैं सदर गरेर ९५ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएका छन्।

सार्वजनिक खरिद तालिमका नाममा कुनै बिल-भरपाई, फोटो र प्रतिवेदन नै नराखी ३ लाख ५० हजार रुपैयाँ उडाइएको छ। न्यूनतम विद्यार्थी संख्या नै नभएका विद्यालयमा फाजिल बालविकास सहजकर्ता राखी ६ लाख ९३ हजार रुपैयाँ बाँडिएको छ।

संघीय स्वास्थ्य मन्त्रालयको सहमति नै नलिई सशर्त अनुदानको १६ लाख ३० हजार रुपैयाँ कार्यपालिकाको निर्णयबाट फरक शीर्षक र वडामा रकमान्तर गरी खर्च गरिएको छ।

सार्वजनिक खरिद नियमावली विपरीत उपभोक्ता समितिमार्फत २ लाख १७ हजार रुपैयाँको तामाको माने खरिद गरिएको छ। बंगुर पालनका लागि छानिएका फर्मलाई छाडेर मौरीपालन समूहलाई नियमविपरीत २ लाख ३४ हजार रुपैयाँ बाँडिएको छ। त्यस्तै, तालिम नै नलिएको समूहलाई १ लाख रुपैयाँ बीउ पुँजी दिइएको छ भने स्वास्थ्य क्षेत्रको बजेटबाट गैरकानुनी रूपमा कार्यालय सहयोगी राखेर २ लाख २० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक खर्च लेखिएको छ।

जनताको करबाट उठेको बजेटमाथि भएको यो मनपरी र कानुनी बेथितिको जवाफदेही सुनापति गाउँपालिकाले कहिले दिने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।