Skip to main content
आइतबार, २१ भदौ २०८३

सैनामैना नगरपालिका मा १ करोड २९ लाखको भ्रष्टाचार

Ground Zero

September 6, 2026


रुपन्देहीको सैनामैना नगरपालिकामा आर्थिक अनुशासनहीनता र बजेट दुरुपयोगको भयावह रूप अगाडि आएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा १ करोड २९ लाख ६७ हजार ५५ रुपैयाँको अनियमितता भएको छ ।
कानुन र मापदण्डलाई मिचेर बजेट रितपुऱ्याउने, नियमविपरीत दरबन्दी बाहिरका कर्मचारी भर्ती गर्ने र आफ्ना मान्छेलाई बैठक भत्ता बाँड्नेसम्मका काममा यो अनियमितता भएको हो
आर्थिक वर्ष २०८१/८२ मा कुल १ करोड ९८ लाख ५ हजार बेरुजु देखिएकोमा ५० लाखभन्दा बढी फछ्र्योट भए पनि अझै १ करोड ४७ लाखभन्दा बढी बेरुजु फछ्र्योट हुन बाँकी छ। जसमा अनियमित भएको १ करोड २९ लाख ६७ हजार रुपैयाँका अतिरिक्त ७८ हजार रुपैयाँ असुल हुनुपर्ने र १७ लाख ११ हजार रुपैयाँ पेस्की बाँकी छ। विगतका वर्षहरूको समेत जोड्दा सैनामैना नगरपालिकाको अद्यावधिक बेरुजु रकम रु. ८ करोड २१ लाख ९६ हजार पुगेको छ।
अनियमितताको नमुना हेर्ने हो भने, स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण विना र स्रोतको सुनिश्चितता नगरी दरबन्दी बाहिरका १४ जना सहायक चौथो तहका करार कर्मचारीको म्याद थपेर ६१ लाख ६ हजार ५५ रुपैयाँ कानुनविपरीत खर्च गरिएको छ।
त्यस्तै, नेपाल सरकारको कार्य सञ्चालन निर्देशिकालाई बेवास्ता गर्दै विभिन्न समिति र बोलपत्र मूल्याङ्कन बैठकहरूमा तोकिएको सीमाभन्दा बढी आमन्त्रित सदस्यहरू राखी ३ लाख ६१ हजार रुपैयाँ भत्ताबापत नियमविपरीत बाँडिएको छ।
यति मात्र होइन, कर्मचारी कल्याण कोषका लागि कानुनी व्यवस्था र कार्यविधि नै नबनाई समानीकरण अनुदानको १० लाख रुपैयाँ सोझै ट्रान्सफर गरेर खर्च लेखिएको छ। साथै, स्थानीय सरकार सञ्चालन ऐनको धज्जी उड़ाउँदै आन्तरिक आयको झन्डै ५ प्रतिशत (३९ लाख ७३ हजार रुपैयाँ) रकम अतिथि सत्कार, खाजा र सभा सञ्चालनजस्ता विविध शीर्षकमा उडाइएको छ।
नगरपालिकाले आवधिक योजना समेत बनाएको छैन। स-साना र टुक्रे योजनामा बजेट छरेर चालु खर्च बढाउने र असार मसान्तमा मात्र हतार-हतार ७२ प्रतिशतभन्दा बढी पुँजीगत खर्च देखाउने परिपाटीले कामको गुणस्तर र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।
नागरिकको कर र राज्यको अनुदानमाथि भएको यस्तो मनपरी र अनियमितताले सैनामैनामा सुशासनको उपहास गरेको छ। जनताको विकासका लागि आएको बजेट प्रक्रिया मिचेर आफ्नालाई पोस्न र फजुल खर्चमा सकिँदा जनप्रतिनिधि र प्रशासनिक नेतृत्वको जवाफदेहिता खोइ ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।