Skip to main content
शुक्रबार, ०६ कात्तिक २०८३

अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

December 8, 2023


उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने नेपाली विद्यार्थीहरु प्रत्येक वर्ष बढ्दै गएका छन् । विश्व उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न कसलाई मन लाग्दैन र? अनुसन्धान, काम र व्यवसायमा उत्कृष्ट करिअर चाहने प्रत्येक युवाको सपना हुन् अमेरिकी विश्वविद्यालयहरु। यो पटक हामीले अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबारे खोजी गरेका छौँ ।

अमेरिकी विश्वविद्यालयहरुमा कति नेपाली छन्? उनीहरुले कुन विषय पढिरहेका छन्? स्नातक, स्नातकोत्तर, पीएचडी कुन तहमा कति विद्यार्थी छन्? सबैभन्दा पहिला हामीले यी प्रश्नहरु इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) लाई इमेलबाट सोध्यौँ ।

न्यूयोर्क मुख्यालय भएको आई आई ई अमेरिकी सरकारसँग काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो। यसले अमेरिकी विश्वविद्यालयमा पढ्ने विद्यार्थीबारे वर्षेनी रिपोर्ट सार्वजनिक गर्छ । आई आई ई द्वारा प्रकाशित यो वर्षको ओपनपडुअर्स रिपोर्टअनुसार अमेरिका जाने विद्यार्थी सूचीमा नेपाल विश्वकै ११ औं स्थानमा छ। पहिलो र दोस्रो स्थानमा क्रमश: चीन र भारत छन्। रिपोर्टअनुसार शैक्षिक वर्ष २०२२/२०२३ का लागि १५ हजार ९० नेपाली अमेरिका गएका छन्। यो भनेको गत वर्षभन्दा भन्दा २८ प्रतिशत धेरै हो। अघिल्लो वर्षभन्दा ३ हजार २ सय ९१ जना बढी हो।

एकै शैक्षिक वर्षमा यति धेरै संख्यामा नेपाली अमेरिका पुगेको पहिलो पटक हो। अघिल्लो वर्ष ११ हजार ७ सय ९९ जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका गएका थिए।

नेपालीहरुले अमेरिका गएर कुन कुन विषय पढिरहेका छन् त ? यो प्रश्न हामीले आई आई ई लाई सोधका थियौँ।
हामीलाई इमेल जवाफ फर्काउँदै आई आई ई की क्रिस्टिना रसले भनेकी छिन्— शैक्षिक वर्ष २०२२/२०२३ मा सबैभन्दा धेरै नेपालीहरु म्याथ कम्प्युटर साइन्स अध्ययनका लागि अमेरिका पुगेका छन्। दोस्रोमा पियोर साइन्स नेपालीको रोजाइमा धेरै छ । तेस्रो सबैभन्दा धेरै विद्यार्थी गएको विषय इन्जिनियरिङ हो।

सबैभन्दा बढी विद्यार्थी अमेरिकाको टेक्सस राज्यमा गइरहेका छन्। ओहायो, न्युयोर्क, म्यासाचुसेट्स, इलिनोई त्यसपछि क्रमशः धेरै विद्यार्थी जाने राज्यहरु हुन्।

नेपाली शैक्षिक संस्थाको गुणस्तर, पढाइ पूरा भएपछि अवसरको अभाव, बेरोजगारीका कारण अध्ययनका लागि विदेश जानेहरु बढेका छन्। पढाईमा अब्बल विद्यार्थीको रोजाइ अमेरिका हुने गरेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।