
Ground Zero
November 4, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा मुलुकमा सर्वसत्तावाद स्थापित हुने खतरा बढेको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राख्नुभएको हो।
आईजीपी हटाउने निर्णयदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्नेसम्मका घटनाले देशलाई सर्वसत्तावादतर्फ धकेल्ने जोखिम देखा परेको उहाँले दाबी गर्नुभयो। विधि, नियम र स्थापित पद्धतिभन्दा लहडका भरमा सरकार सञ्चालन हुँदा मुलुक गम्भीर सङ्कटमा पर्न सक्ने उहाँको भनाइ थियो।
सो क्रममा अध्यक्ष लिङ्देनले राप्रपा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै आगामी नेतृत्व लिनका लागि पार्टी सदैव तयार रहनुपर्नेमा जोड दिनुभयो। देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन राप्रपा बलियो हुनु र चुनाव जित्नु आवश्यक रहेको बताउँदै उहाँले पार्टीलाई व्यक्तिगत तथा सत्ता स्वार्थबाट मुक्त बनाएर अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।