Skip to main content
शुक्रबार, ०६ कात्तिक २०८३

मोदीद्वारा कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

March 7, 2024


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन्।

नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो। कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ।

जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो। यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो। नक्सालाई संसदले अनुमोदन गरेको थियो।

शिलान्यास अवसरमा सीमावर्ती पिथौरागढ सदरमुकाममा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको छ।

नेपाली भूभागमा पर्ने गुञ्जी गाउँ, एरोले देखाएको क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो।
नेपाली भूभागमा पर्ने गुञ्जी गाउँ। एरोले देखाएको क्षेत्र जहाँ निर्माण गर्न लागेको हो भारतले शिवधाम। तस्विर: शुभक महतो

कार्यक्रममा भारतका अजय टमटा पिथौरागढ जिल्ला अलमोडा लोकसभा सदस्य सहभागी छन्। उत्तराखण्ड प्रदेशका राज्यमन्त्री गणेश भण्डारी, धारचुलाका ब्लक प्रमुख धनसिंह धामी, पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशी सहभागी छन्।
नेपालको गुञ्जीमा निर्माण गरिन लागेको शिवधाम बारे नेपाली पक्ष बेखबर छ।

चुच्चे नक्साभित्रको गुञ्जीमा भारतले शिवधाम बनाउन लागेछ, त्यहाँ के भएको हो ? भनेर नेपालग्राउन्डजिरोले परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यलाई सोधेका थियो। ‘मलाई थाहा छैन, हामीसम्म यो कुरा आएको छैन। माथि सोध्नोस् न’, उनले टेलिफोनमा भने।

परराष्ट्र मन्त्रालय मात्र होइन दार्चुलाको गृह प्रशासनले पनि शिवधाम निर्माणबारे अनविज्ञता प्रकट गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पनि शिवधाम निर्माण र शिलान्यासबारे आफूलाई थाहा नभएको बताए। ‘गुञ्जीमा शिवधाम निर्माण गर्न लागिएको बारे केही थाहा छैन। औपचारिक रुपमा कुनै जानकारी पनि दिइएको छैन’, जोशीले नेपालग्राउन्डजिरोसँग टेलिफोनमा भने।

पिथाैरागढको शिलान्यास कार्यक्रमका सहभागीले मोदीले शिलान्यास गरेको यो शिवधामलाई हिन्दूहरुको पाँचौं पवित्र धाम हुने बताएका छन्। पवित्र चार धाम यसअघि नै अस्तित्वमा छन्। बद्रिनाथ, रामेश्वरम, द्वारका, जगन्नाथपुरी अहिलेका चारधाम हुन्। यी चारवटै धाम भारतमा पर्छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।