Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, २१ कात्तिक २०८१

कारवाहीमा परेका मेनपावरका मालिक को हुन् ?

Ground Zero

January 3, 2024

आज हामी वैदेशिक रोजगार विभागमा भएको बेथिति बारेमा चर्चा गर्दैछौं ।
वैदेशिक रोजगार विभागले वि.सं. २०८० साल मंसिर २४ गते एउटा प्रेस नोट जारी गर्‍यो । प्रेस नोटमा भनिएको थियो— इजाजत प्राप्त केही मेनपावरहरुको कारोबार रोक्का गरिएको छ । केहीलाई निलम्बन र खारेजै गरिएको जानकारी दिइयो । विभागले त्यतिबेला आफ्नो कार्यप्रगति देखाउँदै ५० मेनपावर कारवाहीमा परेको जनाएको थियो । प्रेस नोटमा मेनपावरलाई गरिएको जरिवाना रकम समेत उल्लेख थियो । त्यसपछि हामीले मेनपावरहरु कसरी कालो सूचीमा पर्छन् भनेर वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलाई सोधेका थियौं ।
वैदेशिक रोजगार विभागबाट इजाजत पाएका मेनपावरले मात्र नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन पाउँछन् । ठगी गरेको उजुरी परे र अनुसन्धानबाट त्यस्तो उजुरी पुष्टि भए कारवाही हुन्छ । यो त भयो विभागले नियमअनुसार गर्नु पर्ने कामको जिम्मेवारीको कुरा । तर कुन मेनपावरलाई के कारवाही गरिएको हो ? विभागले कारवाही गरेका मेनपावरहरु मध्ये—
निलम्बन : १६
कारोबार रोक्का : ३२
खारेजी : २
गरी जम्मा ५० वटा छन् ।
अब हामीलाई लाग्यो कारवाहीमा परेका ती मेनपावरहरु कुन कुन हुन् त ? विभागले कारवाही गरेर नाम गोप्य राखेका मेनपावरका मालिकहरु को को हुन् ?
निलम्बनमा परेका मेनपावरमा सर्वसाधारण पुगे भने फेरि ठगिन्छन् । खारेजीमा परेका मेनपावरहरुको चंगुलमा परी सर्वसाधारण जनता फेरि लुटिन्छन् । लाखौँ जनतालाई चासो हुने यो विषय अनुसन्धान गर्ने क्रममा हामीले कारवाहीमा परेका मेनपावरहरुको नाम लिस्ट विभागसँग माग्यौँ ।
एक पटक होइन, दुई पटक होइन, तीन पटक होइन, पटक—पटक हामी विभाग पुग्यौँ । तर विभागका सूचना अधिकारीले नाम लिष्ट दिन चाहेनन् । अरु कर्मचारीले समेत यो वा त्यो बहानामा लिस्ट गोप्य राखिरहे ।
वैदेशिक रोजगारीमा जान चाहने र गइसकेका नेपाली श्रमिकसँग सरोकार राख्ने सरकारी निकाय श्रम विभाग हो । तर कानुनको किताब टेबलमा राखेर गैरकानुनी काम गर्ने प्रवृत्ति श्रम विभागको व्यवहारमा देखिएको छ । कारवाहीमा परेका मेनपावरहरुको लिस्ट गोप्य राखिनुको अर्थ पैसा बार्गेनिङ गर्नका लागि हुन सक्छ । श्रम विभाग नेपाली युवाप्रति जवाफदेही हुनै पर्छ । फाटाई गर्ने मेनपावरको नामावली लुकाएर जनतालाई अन्धकारमा राखेर ठगी हुने वातावरण बन्न दिनु हुँदैन । 
हामीलाई नाम लिष्ट नदिनुको कारण खोजतलास गर्दा विस २०८० साल जेठ २ गते राजश्व विभागबाट सरुवा भएर मदन दाहाल महानिर्देशकको रुपमा वैदेशिक रोजगार विभागमा आएका रहेछन् । दाहालको कार्यकालमा भएका कामहरु उल्लेख गर्दै मंसिर २४ गते कारवाहीको सूचि सार्वजनिक गरिएको रहेछ । कारवाहीमा परेका मेनपावरको सूची सार्वजनिक गरे लगत्तै महानिर्देशक दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भए । दाहाल सरुवा पछि संख्या सार्वजनिक भए पनि मेनपावरको सूची सार्वजनिक गर्ने काम विभागले रोकेको छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।