बहराइनको दरबारमा नेपाली रोयल गार्ड
खाडीका देशहरुमा कहाँ छैनन् र नेपाली ? साउदी अरब, युएई, बहराइन, इराक, जोर्डन, यमन सबैतिर नेपाली पुगेका छन् । दक्ष जनशक्तिदेखि क्लिनर, कन्सट्रक्सनको काम गर्नेसम्म ती देशमा नेपाली छन् । बहराइनको स्थिति अलिक फरक छ । नेपालीले त्यहाँको दरबार र राजपरिवार सदस्यलाई रोयल गार्डको रुपमा सुरक्षा दिन्छन् ।
सुन्दर समुन्द्री तट भएको बहराइनमा नेपालीहरु रोयल गार्ड, घरको सुरक्षा, किचेन, घरभित्रको काम, ड्राइभिङ जस्ता काम गर्दै आएका छन् । बहराइनमा राजतन्त्र छ । त्यहाँ अहिले हमाद बिन इसा अल खलिफा महाराज छन् ।
इमान्दार स्वभावका नेपालीहरुले महाराज र राजपरिवार सदस्यको मन जितेका छन् । विश्वास आर्जन गरेका छन् । त्यही भएर नेपाली राजदरबारभित्र र राजपरिवार सदस्यको सुरक्षामा काम गर्ने अवसर पाएका हुन् । नेपाली सेनाको पृष्ठभूमि भएकाहरुले काम पाउने सम्भावना धेरै हुन्छ । रोयल गार्डहरुको पारिश्रमिक निकै आकर्षक पनि छ । उनीहरुलाई खाना र बस्ने सुविधा पनि दरबारभित्रै हुन्छ ।
राजदरबार मात्र होइन राजपरिवार सदस्यका लागि पनि नेपालीहरु रोयल गार्डको रुपमा काम गर्दै आएका छन् । नेपाली र ब्रिटिस सेनाबाट अवकास प्राप्त सुरक्षाकर्मी्हरु मात्र राजपरिवार र दरबार सुरक्षामा छन् । उनीहरुले भ्रमणको समयमा पनि राजा र राजपरिवार सदस्यलाई सुरक्षा प्रदान गर्नुपर्छ ।
अहिले नेपाली रोयल गार्डका लागि बहराइन जान म्यानपावरलाई मोटो रकम तिर्नुपर्छ । तर बहराइन सरकारले भने रोयल गार्डमा काम गर्नेहरुलाई सरकारी संयन्त्रबाटै लैजान प्रस्ताव गरेको छ । गएको भदौमा बहराइन रोयल गार्डका कमान्डर जनरल शेख नासिर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बर्रोबस र मोहम्मद जुमा काठमाडौं आएका थिए । उनीहरुले श्रम मन्त्री शरतसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारीसँग भेटघाट गरे ।
जनरल नासिर राजपरिवारका सदस्य पनि हुन् । उनले नेपाली कामदारको लगनशीलता र इमान्दिारिताको प्रशंसा गरे अनि सरकारी तहबाट रोयल गार्ड लैजाने प्रस्ताव राखे । यो बहराइनको तर्फको कुरा भयो । अब नेपाल सरकारले के गर्छ ? त्यसका लागि भने प्रतीक्षा गर्नै पर्छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।