Skip to main content
शुक्रबार, ०६ कात्तिक २०८३

कर उठाउने माध्यम मात्रै बन्यो एम्बुस्ड नम्बर प्लेट

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 9, 2023


कुनै बेला सरकारको दाबी थियो— इम्बोस्ड नम्बर प्लेटले सवारी सााधन चोरीका घटना रोक्छ, गैरकानुनी धन्दामा सवारी साधनको प्रयोग घटाउँछ। सरकारले अहिलेसम्म सडकमा इम्बोस्ड नम्बर प्लेट सिस्टम राखेकै छैन। अत्याधुनिक नम्बर प्लेट राख्दाको फाइदा गाडी प्रयोगकर्ताले पाउँदैनन्। तर काम नगरे पनि इम्बोस्ड नम्बर प्लेट धमाधम वितरण भइरहेको छ। किन यस्तो भइरहेको छ त ? कुरा सिम्पल छ, राजस्व असुली गर्न ।

काम नलाग्ने इम्बुस्ड नम्बर प्लेट बारे अर्को एउटा रोमाञ्चक कुरा छ। यतिबेला तपाइँसँग पुरानो नम्बर प्लेटको सवारी साधन छ र बिक्री गर्नु भयो भने अनिवार्य इम्बोस्ड नम्बर हाल्नुपर्छ । यसरी पुरानो सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखिए पनि सरकारले आफ्नो रेकर्डमा पुरानै नम्बर राख्छ। इम्बोस्ड नम्बर रेकर्डमा हुँदैन।

सरकारले २०७९ सालदेखि नयाँ तथा पुराना सबै सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अनिर्वाय जडान गर्नुपर्ने नियम ल्याएको थियो । तर अनिवार्य इम्बोस्ड नम्बर प्लेटको नियमलाई सर्वसाधारणले चर्को बिरोध गरे। नियम फिर्ता लिन सरकार बाध्य भयो। अहिले पनि सर्वसाधारण सवारी साधनको सुरक्षा हुन्छ भनेर होइन बाध्य भएर मात्रै इम्बोस्ड नम्बर प्लेट राखिरहेछन् ।

इम्बोस्ड नम्बर प्लेटको सवल पक्ष भनेकै सवारी साधन कहाँ छ भनेर ट्रयाक गर्न सक्नु हो। यो विशेषता भएकाले नै इम्बोस्ड नम्बर प्लेट भएको सवारी साधन हराएमा सजिलै खोज्न सकिन्छ। अपराध कार्यमा सवारी साधनको प्रयोग घटाउन सकिन्छ। यति मात्र होइन करको भुक्तानी पनि इम्बोस्ड नम्बर प्लेटबाट गर्न सकिन्छ । तर यी सब फाइदा लिन सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेर मात्र पुग्दैन । त्यसलाई रिड गर्ने सिस्टम सडक सडकमा हुनैपर्छ।

सप्लायरसँग मिलेर सर्वसाधारणसँग असुली
नयाँ गाडी किन्ने उपभोक्तालाई पनि आपूर्तिकर्ता कम्पनीसँग मिलेर इम्बोस्ड नम्बर प्लेटको चंगुलमा पारिन्छ। कसैले नयाँ गाडी किन्यो भने उसले सबैभन्दा पहिला पुरानो नम्बर प्लेट पाउँछ । अर्थात् गाडी बेच्ने कम्पनीले अञ्चल नम्बर हालेर गाडी दिन्छ। तर यातायात कार्यालयले नयाँ गाडीमा इम्बोस्ड नम्बर राख्न लगाउँछ। यहाँ रोमाञ्चक त के छ भने नयाँ गाडीमा इम्बोस्ड नम्बर राखिए पनि सरकारको रेकर्डमा भने पुरानै नम्बर रहन्छ, इम्बोस्ड नम्बर रेकर्डमा हुँदैन।

तपाईंलाई सुन्दा अचम्म लाग्ला तर यतिबेला नेपालमा एउटा सवारी साधनका तीन फरक फरक नम्बर प्लेट अस्तित्वमा छन्। अञ्चल सङ्केत नम्बर, प्रदेश सङ्केत र इम्बोस्ड नम्बर प्लेट नम्बर। जडान मूल्यको हिसाबले ३ मध्ये इम्बोस्ड नम्बर प्लेट सबैभन्दा महँगो छ। र उपयोगको हिसाबले सबैभन्दा काम नलाग्ने पनि त्यही छ । प्रविधिले दिएको सुविधा प्रदान नगर्ने इम्बोस्ड नम्बर प्लेट सर्वसाधारणलाई महँगोमा किन राख्न लगाउने ? नयाँ प्रविधिको उपयोग सेवाको गुणस्तर बढाउनका लागि हुनुपर्छ । जनताको हित र सुरक्षाका लागि हुनुपर्छ । सेवा नदिने, सुरक्षा नदिने फगत पैसा असुल्ने इम्बोस्ड नम्बर प्लेटको औचित्य छैन।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।