Skip to main content
शुक्रबार, २६ भदौ २०८३

चौरजहारीमा १ करोड ३५ लाख अनियमितता

Ground Zero

September 10, 2026


कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकामा १ करोड ३५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको अनियमितता सार्वजनिक भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ७२ करोडभन्दा बढी रकमको लेखापरीक्षण गर्दा कुल बेरुजु १ करोड ५६ लाख ५४ हजार रुपैयाँ देखिएको थियो। असुली र फछ्र्यौटपछि पनि १ करोड ३७ लाख ५१ हजार रुपैयाँ बेरुजु बाँकी रहँदा कुल अद्यावधिक बेरुजु २८ करोड ७५ लाख ३३ हजार रुपैयाँ पुगेको छ।

पालिकाले समयमै सवारी साधनको नवीकरण नगर्दा १ लाख १४ हजार रुपैयाँभन्दा बढी जरिवाना तिरेर सरकारी कोषलाई घाटा पुर्याएको छ। त्यस्तै, बोलपत्र आह्वान गर्नुको साटो ७ वटा टुक्रा पारेर सोझै ५४ लाख ६३ हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरिएको छ। स्वीकृत दरभन्दा महँगोमा औषधि किन्दा थप ६ लाख ६९ हजार रुपैयाँको आर्थिक भार थपिएको छ।

सडक निर्माणमा उपभोक्ता समितिसँग सम्झौता गरी १३ लाख ८४ हजार रुपैयाँ बराबरको काम सोझै निर्माण व्यवसायीबाट गराइएको छ। चिलिङ भ्याट खरिद गर्दा ठेक्का छल्न २० लाख ५० हजारको बजेट दुई टुक्रा पारिएको छ। यति मात्र होइन, विद्यालयका विद्यार्थीलाई दिइने ९ लाख रुपैयाँ अनुदान बैंक खातामा नहाली नगद भर्पाई गरिएको छ भने डिजिटल कक्षाको बजेटबाट अन्यत्रै २८ लाख १९ हजार रुपैयाँ खर्च गरिएको छ।
कानुन र कार्यविधिको धज्जी उडाउँदै गरिएको यो बजेट दुरुपयोगले स्थानीय सरकारको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

More Uncategorized, Reports