Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, २७ कात्तिक २०८२

लुक्लामा सेटिङ, काठमाडौंमा अख्तियारको छापाः प्रदिप अधिकारी र लुकिएको फाइलको रहस्य

Ground Zero

October 12, 2025

देशभर भ्रष्टाचार विरुद्धको लहर चलेको छ । जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले ठूलो माछा समाउने प्रतिज्ञा गरेकै थियो । तर यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भने उस्तै ढुक्क थिए —ढुक्क, किनकि उनको भरोसा सिस्टम सेटिङमा थियो ।
असोज २४ गते, शुक्रबार, उनी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको टोली लिएर हेलिकोप्टरमा लुक्ला पुगे ।

लुक्लातर्फको उडान
“सोज २४ गते दिउँसो २ बजेतिर —फिस्टेल एयरको हेलिकोप्टर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्छ । हेलिकोप्टरमा थिए —पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईका भाई सागरमोहन भट्टराई, फिस्टेल एयरका मालिक र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की, एक जना बिचौलिया, र महानिर्देशक प्रदिप अधिकारी स्वयं ।
हेलिकोप्टर उत्रन्छ — लुक्ला । त्यो पनि यती एयरलाइन्सका मालिक फुर्वाग्याल्जेन शेर्पाको होटलमा सीधा । त्यो रात, प्रदिप अधिकारी र न्यायिक टोली त्यही होटलमा बसे । लुक्लाको त्यही उडानमा पाँच लाख रुपैयाँ खर्च भयो । तर त्यो पैसा कहाँबाट तिरेर फिस्टेल एयर चार्टर गरियो ? अहिलेसम्म खुल्न सकेको छैन।

सेटिङको बैठक
होटलको एउटा सानो कोठा —त्यहाँ सुरु भयो सेटिङको छलफल । प्रदिप अधिकारीको प्रस्ताव थियो स्पष्टः अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, र नलिञ्चोक हेलिपोर्टको फाइलमा अनुसन्धान नगरोस् । किनभने ती तीनै परियोजनामा करिब ३२ अर्ब घोटाला जोडिएको छ —र ती सबैको जिम्मेवार उनी स्वयं। सूत्रका अनुसार, प्रदिप अधिकारीले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारसँग ‘न्यायिक सिफारिस पुर्‍याइदिने आश्वासन मागेका थिए । त्यसको सन्देश कल्याण श्रेष्ठमार्फत पुर्‍याउने योजना थियो। यो भेटमा सहभागिता भएका मध्ये एक न्यायाधीशका नातेदार सागरमोहन भट्टराई —पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईका भाई हुन् र कल्याण श्रेष्ठका छोरोलाई प्रदिप अधिकारीले गौतमबुद्ध विमानस्थलको ट्याक्सी वे निर्माणको ४ अर्बको ठेक्का दिएका छन् ।

काठमाडौंमा अर्को दृश्य — अख्तियारको छापा
उता, जब लुक्लामा प्रदिप अधिकारी सेटिङ मिलाउँदै थिए, त्यो बेला काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नेपाल नागरिक उड्डयन प्राधिकरणमा छापा मार्दै थियो । उनीहरूको निशाना — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सक्कली फाइलहरू।
प्राधिकरणका कर्मचारीहरूले सुरुमा फाइल दिन अस्वीकार गरे । उनीहरूले भने —महानिर्देशक अधिकारी आइतबार फर्किएपछि फाइल दिइन्छ। तर अख्तियारको टोलीले स्पष्ट भन्यो — फाइल अहिले नै दिनुहोस्, नत्र सबैलाई पक्राउ गरेर लैजानेछौं । त्यसपछि मात्रै फाइल खुल्यो —त्यी शुक्रबार ।
ती फाइलहरूमा थिए —पोखरा विमानस्थलमा १८ अर्बको भ्रष्टाचारको फर्जी कागजपत्र तथा बिलहरु । अख्तियारले ती सबै कागज अहिले नियन्त्रणमा लिएको छ ।

नयाँ सरकार र अनुसन्धानको दिशा
जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुता नीतिको घोषणा गरेको थियो । त्यही कारणले अहिले अख्तियार सक्रिय छ । अख्तियारले अहिले एक लाइनमा प्रतिक्रिया दिएका छन्, हामीले प्राधिकरणबाट सबै सक्कली फाइल नियन्त्रणमा लिएका छौं । अनुसन्धान अन्तिम चरणमा छ । यो पहिलो पटक हो — जब अख्तियारले अर्बौंको ठेक्का प्रक्रियामा देखिएको भ्रष्टाचारलाई राजनीतिक ढाल बिना हेरिरहेको छ।

ठेक्का, सेटिङ र सञ्जाल
तर ठेक्का पाउनेहरू सबै कुनै न कुनै रूपमा प्रदिप अधिकारीसँग जोडिएका थिए । त्यही सञ्जालले अब न्यायिक तहसम्म ‘सेटिङ पुर्‍याएको आरोप छ। कल्याण श्रेष्ठका छोरा ठेकेदार। पूर्व न्यायाधीशका भाई ठेक्का प्रक्रियामा सल्लाहकार। फिस्टेल एयरका मालिक — वायुसेवा सञ्चालक संघका अध्यक्ष ।
र यी सबैबीच प्रदिप अधिकारी — केन्द्रमा ।

जनमत र दबाब
लुक्लामा सेटिङको प्रयास र काठमाडौंमा अख्तियारको छापापछि देशभर चर्चा सुरु भएको छ । यो घटनाले न्याय प्रणालीप्रतिको भरोसा पुनः परीक्षणमा पारेको छ । अख्तियारले अब फाइल अध्ययनपछि महानिर्देशक प्रदिप अधिकारीमाथि ‘विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

लुक्लाको मौनता र अन्तिम सन्देश
लुक्लाको चिसो हावामा प्रदिप अधिकारी र पूर्व न्यायाधीशबीच के कुरा भयो — त्यो न कोहीले सुनेको छ, न लेखिएको । तर काठमाडौंमा अब सबै कुरा खुल्दै छ । अख्तियारले सक्कली फाइल नियन्त्रणमा लिएको छ, सरकारले कारवाहीको तयारी थालेको छ र युवाहरू सडकमा पुनः उत्रिन तयार छन् ।
यो केवल एक फाइलको कथा होइन — यो न्याय, नैतिकता र नयाँ नेपालको परीक्षाको कथा हो ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।