Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

शनिबार, २९ मंसिर २०८१

वीरेन्द्र, सुजन: कोरिया जान काठमाडौं आए, प्रहरीको गोलीले ज्यान गुमाए

Ground Zero

December 30, 2023

शुक्रबार २९ डिसेम्बर, २०२३ मा काठमाडौंको रिङरोडको बालकुमारी क्षेत्रमा युवा विरोध प्रदर्शनमा उत्रिए। त्यही बेला भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला सरकारी गाडी चढेर त्यहीँ आइपुग्छन्।

कोरियाली रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरु बालकुमारीमा बिहानैदेखि बिरोध प्रदर्शन गर्दै थिए। उनी त्यहीँ पुगे। अगाडि प्रदर्शन देखे पनि मन्त्रीका चालकले गाडी घुमाएर फर्काएनन्। प्रदर्शन भइरहेको ठाउँमै प्रवेश गराए। त्यसपछि मात्र हो गाडी युवाको पकडमा पुगेको हो।

आक्रोशित युवाले सबैभन्दा पहिला गाडीको हावा खुस्काइदिए। मन्त्री र मन्त्रीको सुरक्षामा खटिएका दुई जना पिएसओलाई गाडीबाट ओराले। गाडीमा पेट्रोल छर्किन्छन् र आगो सल्काइदिन्छन्।

यसरी जल्यो मन्त्रीको गाडी

सल्किएको आगोले मन्त्री ज्वाला चढ्ने सरकारी गाडी दनदनी बल्न थाल्छ। आफ्नै आँखा अगाडि दनदनी बलिरहेको देखेपछि प्रहरीले प्रदर्शनकारी लेखट्न सुरु गर्छ।

प्रहरीको अत्यधिक बल प्रयोग

मन्त्रीको गाडी जलेर खरानी हुने बेलासम्म बालकुमारी क्षेत्र तनाबग्रस्त भइसकेको हुन्छ। भिडियो हेर्दा देखिन्छ, प्रहरी सुरुदेखि नै आक्रमक भएर अत्यधिक बल प्रयोगमा उत्रिएको थियो। भिड नियन्त्रणका लागि प्रयोग गर्न सकिने वैकल्पिक उपाय छोडेर प्रहरी लाठीचार्ज, अवाई फायर र गोली प्रहारमा उत्रियो। प्रहरीको अत्यधिक बल प्रयोगमा परी दुई जनाले ज्यान गुमाए। प्रहरीे गोलीले डोटीका वीरेन्द्र शाह र जुम्लाका सुजन राउतको ज्यान लिएको हो।

यहाँ नेर बुझ्नु पर्ने कुरा के छ भने प्रदर्शनकारी संयमित थिए। उनीहरुले मन्त्री र उनका २ सुरक्षा गार्डलाई गाडीबाट ओरालेर मात्र गाडीमा आगो सल्काएका हुन्। तर मन्त्रीको गाडी आफ्नै अगाडि प्रदर्शनकारीले नियन्त्रणमा लिएपछि प्रहरी संयमता गुमायो। देखिएन।

बालकुमारी घटनाबारे मन्त्री ज्वालाको भनाइले पनि प्रदर्शनकारी युवा संयमित भएको पुष्टि गर्छ। घटनापछि टेलिफोनमा कुराकानी गर्दै मन्त्री ज्वालाले भने, ‘म बालकुमारीबाट सातदोबाटो जाँदै थिएँ। उनीहरु आन्दोलन गरिरहेका थिए। प्रहरीसँग तनाब भइरहेको रहेछ, निसानामा हामी पर्यौँ। हामी गाडीबाट ओर्लियौँ। उनीहरुले गाडीमा आगो लगाइदिए।’

कोरिया जाने सपना साँचेर काठमाडाैं आएका दुई युवा जो प्रहरीद्वारा मारिए।

बालकुमारी घटनामा प्रहरी दमनबाट ढलेका युवालाई प्रहरीले फरक फरक अस्पताल पुर्याएको थियो । डोटीका वीरेन्द्र शाहको पाटन अस्पतालले मृत्यु भयो। जुम्लाका सुजन रावतलाई किस्ट अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरे। दुवैको शवलाई पोस्टमार्टमका लागि लगिएको छ।

बिरोध प्रदर्शनको मुख्य कारण के थियो त ?
सरकारसँग युवा आक्रोशित हुनुको मुख्य कारण कोरिया जाने प्रावधान नै हो। एउटा क्षेत्र रोजेर भाषा परीक्षामा सहभागी भएकाले एक वर्षभित्र कामको अर्को क्षेत्र रोजेर भाषा परीक्षा दिन पाउँदैनन्। जहाज निर्माणका लागि भाषा परीक्षा दिएकाहरुलाई उत्पादन क्षेत्रको लागि खुलाइएको भाषा परीक्षामा सहभागी गराइएन।

यसकै विरोधमा युवाले इपीएस कार्यालय अगाडि युवाहरु प्रदर्शन गरेका हुन्। जहाज निर्माणको कामका लागि ३२ हजार युवाले भाषा परीक्षा दिएका थिए। उनीहरुले उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी हुन पाएनन्। त्यसविरुद्ध युवा आन्दोलनमा उत्रिएका हुन्।

तर्कबहादुर पल लगायत १२ जनाले इपीएस कार्यालयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। आन्दोलन चर्किएकै दिन शुक्रबार अदालतले कोरियाली भाषा परीक्षाको आवेदन फराम भर्न कसैलाई रोक नलगाउन अन्तरिम आदेश दिएको छ।

‘निवेदकहरुलाई अपुरणीय क्षति हुन सक्ने देखिएकाले कोरियाली भाषा परीक्षाको आवेदन फारम भर्न कसैलाई रोक नलगाउनू’, न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले दिएको अन्तरिम आदेशमा भनिएको छ।

देशमा भ्रस्टाचार, गरिबी र बेरोजगारी व्याप्त हुँदा कोरिया जान नपाउने प्रावधानविरुद्ध नागरिकमा देखिएको आक्रोश सामान्य छैन। युवाको आक्रोश नेताहरुको शासकीय शैलीविरुद्ध खतराको घण्टी हो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।