Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, ०१ फागुन २०८१

युके जाने नेपाली नर्सको बाटो अंग्रेजीले छेक्यो

Priyanka Hamal

November 22, 2023

नेपाली नर्सलाई युके पठाउने काम अन्तिम चरणमा पुगेको छ। एक सय जना माग भएकोमा निर्धारित मापदण्ड पूरा गर्नेहरु भने जम्मा ७८ जना मात्रै छन् । उनीहरुको डकुेमन्ट भेरिफिकेसनको काम पूरा भइसकेको छ।

अनलाइन फारम साइन-अप गर्नेहरु ७ सय ७१ जना थिए । निर्धारित योग्यता पूरा गर्नेहरु माग संख्या भन्दा थोरै भए। ‘अनलाइन प्रणालीबाट सबै मापदण्ड पूरा गरी ८२ जनाको फारम आएको थियो’, वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले ग्राउन्डजिरोसँग भने, ‘तर त्यसमा पनि डकुमेन्ट नपुगेका ४ जना रिजेक्ट भएका छन्।’

युके जाने प्रक्रियामा अनलाइनबाट आवेदन दिन मिल्ने प्रणाली बनाइएको थियो। कामका लागि युके जान पाइने यो कार्यक्रममा सुरूमा धेरै नर्सहरूले चासो राखेका थिए। रूचि देखाएका थिए। कतिपयले अनलाइनमा साइन-अप पनि गरेका थिए। तर आवश्यक कागजात अपलोड गर्नेहरू धेरै भएनन्। ४ जनाको हकमा अनलाइन फर्ममा उल्लेख गरेअनुसारको डकुमेन्ट नै पुगेन।

अंग्रेजी मापदण्डबारे हुनेछ थप छलफल

युके जानका लागि अंग्रेजी भाषा, कामको अनुभवसहितका मापदण्डहरू तोकिएका थिए। अंग्रेजीको हकमा आइएलटिएसमा सेभेन ल्याउनु पर्ने मापदण्ड थियो। नेपाली विद्यार्थीका लागि आइएलटिएसमा सेभेन ल्याउनु कठिन काम हो। तर युकेका बिरामीसँग सञ्चार गर्न अंग्रेजी राम्रो हुनु आधारभूत कुरा हो। मुख्यत: आइएलटिएसको स्कोर नम्बरका कारणले गर्दा माग भन्दा थोरै मात्र नर्स छनोट भएका हुन्। ‘धेरैले सुरूमा इन्ट्री गर्ने बेलामा सेभेन वा सेभेन पोइन्ट फाइभ भने पनि त्यो अनुसारको प्रमाणपत्रको मापदण्ड पूरा गर्न नसकेको देखिन्छ’, उप्रेती भन्छन्।

आइएलटिएसको नम्बर अंग्रेजीको राइटिङ, स्पीकिङ, लिशनिङ र रीडिङ गरी चार क्षेत्रको परीक्षाबाट तय हुन्छ। नर्सहरू युके जानको लागि राइटिङ बाहेक सबैमा सात अङ्क आउनुपर्ने मापदण्ड बनाइएको थियो। राइटिङमा भने ६.५ मात्र ल्याए पनि अंग्रेजीमा योग्य मानिने भनिएको थियो।

अंग्रेजी टेस्टका लागि अक्युपेशनल इङ्लिश टेस्ट (ओईटी) को प्राप्त ग्रेड पनि मान्य हुने नियम थियो। ओईटीमा ‘बी’ ल्याउनुपर्ने भनिएको थियो। आवेदकहरू केहीले ओईटी र केहीले आईएलटीएसमा प्राप्त अंक अनलाइन फारममा उल्लेख गरेका थिए।

अंग्रेजी भाषाको मापदण्डको विषयमा सुरुमै पनि नेपालले युकेसँग छलफल गरेको थियो। ‘हस्पिटलको काम सम्वेदनशील हो। इमर्जेन्सी, अपरेसन थिएटरमा काम गर्न जाने नर्सहरुले बिरामीको कुरा बुझ्न सक्नु भएन भने गाह्रो हुन्छ भन्ने कुरा उहाँ (युके)हरुको रह्यो’, सूचना अधिकारी उप्रेती भन्छन्, ‘त्यही कुराले गर्दा अहिले एप्लिकेसन घटेको छ। थप छलफल गर्न ढोका खुलेको छ।’

आवेदकहरूको विवरण नेपालले ब्रिटेनको डिपार्टमन्ट अफ हेल्थ एन्ड सोशल केअर (डीएचएससी) लाई पठाइसकेको छ।मापदण्ड पूरा गरेर छानिएकाहरुको अन्तर्वार्ता हुनेछ। त्यो अन्तर्वार्ता पास गर्नेहरु २—३ महिनाभित्र युके जानेछन्।

‘डीएचएससीले नर्सहरूको योग्यता, क्षमता र अनुभवको मूल्याङ्कन गरेर एउटा छोटो सूची बनाउँछ र त्यो नेपाल पठाउँछ’, उप्रेतीले भने, ‘त्यसरी आएको छोटो सूचीलाई विभागले सार्वजनिक सूचना निकाले जानकारी गराउनेछ।’

‘पाइलटिङ’का रूपमा नेपालले १०० जना नर्स यूके पठाउन लागेको हो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।