टीकटक चलाउन उत्तर कोरिया र चीनबाट सिकौँ
पछिल्लो समय नेपालमा सर्वाधिक लोकप्रिय भिडियो सेयरिङ एप हो— टिकटक। नेपालमा टिकटकबाट कलाकार जन्मिएका छन्। टिकटकबाट बुढाबुढीको जीवनमा खुशीका रंगहरु थपिएका छन्। टिकटकबाट स—साना व्यापार, व्यवसाय चलेका छन्। टिकटकबाटै समाज सेवाका अभियान सञ्चालन भएका छन्। बैंक तथा ठूला कम्पनीले आफ्ना सूचना ग्राहकसम्म पुर्याउन टिकटकको उपयोग गरेका छन्। यी सब पुराना कुरा हुन्। टिकटकबारे नयाँ अपडेट हो— नेपालमा टिकटक प्रतिबन्धित छ। तर चिन्ता नगर्नुहोस्। यो प्रविधिको समय हो । भीपीएन प्रयोग गरी आरामसँग टिकटक चलाउन सकिन्छ।
भिडियो क्लिप सेयर गर्ने यो एपदेखि किन तर्सियो सरकार? सञ्चारमन्त्री रेखा शर्मा भन्छिन्, ‘टिकटक पीडितहरुको लिखित उजुरी र गुनासो धेरै आयो। सामाजिक, पारिवारिक सम्बन्धलाई समस्यामा पारेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।’ टिकटक प्रतिबन्ध गर्ने निर्णय भएको दिन धेरै नेपालीले उत्तर कोरिया र चीनलाई सम्झिए।
हुन पनि चीन र उत्तर कोरियामा इन्टरनेट स्वतन्त्रता छैन। गुगल, बीबीसी, फेसबुक, युट्युब, जीमेल, इन्स्टाग्राम सबै प्रतिबन्धित छन्। तर पनि ती देशमा मानिसहरु जीमेल चेक गर्छन् । भोइस अफ अमेरिका सुन्छन्। फेसबुकमा साथी बनाउँछन्। किनभने इन्टरनेट प्रतिबन्धलाई ब्रेक गर्ने प्रविधि छ। सरकारले प्रतिबन्ध लगाएका वेबसाइटहरु आफ्नो डिभाइसमा भीपीएन इन्स्टल गरी चलाउन सकिन्छ।
भीपीएनको पूरा अर्थ भर्चुवल प्राइभेट नेटवर्क हो। इन्टरनेटमा उपयोग हुने यो एउटा यस्तो सेवा हो जसले सरकारले एक्सेस गर्न प्रतिबन्ध लगाएका ब्लकिङ वा एक्सेस रेस्टिक्टेड वेबसाइट उपयोग गर्न बाटो खोल्दिन्छ। भीपीएनले तपाईंलाई आफूले चलाइरहेको होइन अर्को डिभाइसमा कनेक्ट गरेर इन्टरनेट सञ्जालमा जोडिदिन्छ। तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट राखिदिन्छ जसले गर्दा तपाईंको आइडन्टिटी गोप्य रहन्छ।
डाउनलोड गर्नुअघि आफूले रोजेको भीपीएनको बारेमा राम्रोसँग जाँचबुझ गर्नुपर्छ। ता कि भीपीएनले पर्याप्त इन्टरनेट स्पिड उपलब्ध गराउन सकोस्। तपाईंको प्राइभेसी सुरक्षित राख्न सकोस्। सर्भरको लोकेसन तपाईंलाई थाहा हुन सकोस् । र विभिन्न डिभाइसबाट भीपीएन प्रयोग गर्न सक्ने अवस्था रहोस्। कतिपय सित्तैमा पाइने भीपीएन डाउनलोड गर्दा सँगै भाइरस पनि आउन सक्छन् । यो सब कुरा थाहा पाउन प्रयोगकर्ताको रिभ्यु राम्रोसँग पढ्नुपर्छ।
व्यवसायिक रुीपमा अनलाइन सेक्युरिटी र प्राइभेसीका लागि भीपीएनको प्रयोग हुँदै आएको छ। कतिपय उत्कृष्ट भीपीएन सेवाप्रदायकहरुले निःशुल्क भीपीएन सेवा समेत उपलब्ध गराउँछन्। गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा कैयौँ सशुल्क तथा निःशुल्क भीपीएनहरु उपलब्ध छन्। त्यसमध्ये कुनै एप डाउनलोड गरी भीपीएन एक्टिभ गर्न सकिन्छ।
यी पाँच भीपीएन जो निःशुल्क उपलब्ध छन्
प्रोटोन भीपीएन
वाइन्ड स्क्राइब भीपीएन
प्राइभाडो भीपीएन
एक्सप्रेस भीपीएन
हाइड मी भीपीएन
यसरी गर्नुहोस् भीपीएन एक्टिभ
सबैन्दा पहिला गुगल प्ले स्टोर वा आईओएस एप स्टोरमा गएर भीपीएन एप डाउनलोड गर्नुहोस् । एप डाउनलोड भइसकेपछि त्यसलाई खोल्नुहोस् र कनेक्ट अप्सन थिच्नुहोस्। एपको होमपेजमा लोकेसनको रुप्मा कुनै देशको नाम देख्न सक्नुहुन्छ, त्यसमा थिच्नोस्। भीपीएन कनेक्ट भएपछि मोबाइलको माथि नोटिफिकेसन बारमा भीपीएन कनेक्सन संकेत देखिन्छ। भीपीएन चलाउँदा विदेशी सर्भर लोकेसन प्रयोग हुने भएकाले सम्पूर्ण रुपमा अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भर हुन्छ। भीपीएन एक्टिभ रहेकै अवस्थामा इन्टरनेट प्रयोग गर्दा इन्टरनेट सुस्त पनि हुन सक्छ।
भीपीएनका कारण इन्टरनेट स्पिड स्लो पनि हुनसक्छ । कुकिज प्रोटेक्सन हुँदैन, समग्रमा भन्नुपर्दा प्राइभेसीको जोखिम हुन्छ । यी जोखिमबाट बच्न विश्वसनिय भीपीएन प्रदायकबाट सेवा लिनु उचित हुन्छ । टिकटक चलाउन भीपीएन उत्तम उपाय हो तर तर सावधानी पनि अपनाउनु पर्छ। अविश्वसनीय भीपीएन प्रयोग गरिएका डिभाइसमा रहेका सोसल मिडिया अकाउन्ट तथा बैंकिङ सूचनाहरु चुहिने खतरा हुन्छ । सामान्यतः सःशुल्क भिपीएनहरु बढी भरपर्दो हुन्छन्। तर अरु भीपीएनलाई पनि सुरक्षित रुपमा चलाउन सकिन्छ। डिजिटल डेटा सुरक्षाका लागि भीपीएन एक्टिभ भएको अवस्थामा फेसबुक, इन्स्टाग्राम, डिजिटल वालेट वा बैंकिङ एपहरु नचलाउनु होस्।
नेपालको संविधान २०७२ को धारा २२ ले नेपाली नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ। अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक पनि हो। वाक स्वतन्त्रता अभ्यास गर्ने प्लाटफर्म टिकटकमा प्रतिबन्ध लगाउने काम संविधानको ठाडो उल्लंघन हो। त्यसैले चीन र उत्तर कोरियामाजस्तै नेपालीले पनि आफ्नो डिभाइसमा विश्वसनीय भीपीएन डाउनलोड गरौँ। टिकटक चलाएर संविधानले दिएको अधिकार उपभोग गरौँ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।